रूपन्देहीमा रविको बयान सकियो, पोखरा लगिँदै
काठमाडौँ। रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सकिएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयमा सरकारी वकिलको रोहवरमा प्रहरीले तीन दिन लगाएर लिएको बयान आज (बिहीबार) सकिएको हो। अब उनलाई पोखरा लगिँदै छ। साँझ ६:३० को उडानमा पोखरा लैजाने गरी टिकट काटिएको भए पनि डिले भएर एक घण्टा पर धकेलिएको रविको सचिवालयले जनाएको छ।
लामिछानेसँग तेस्रो दिनको बयान बिहान साढे १० बजेदेखि चलिरहेको छ।
सरकारी वकिलको रोहबरमा रूपन्देही प्रहरीका अनुसन्धान अधिकारीले बयान लिइरहेको छ। बयान सकिएपछि उनलाई पोखरा लैजान साँझ ६:४० बजेको उडानका लागि टिकट काटिसकिएको छ।
रविसँग मंगलबार ४ घण्टा र बधुबार ९ घण्टाभन्दा बढी समय बयान लिइएको थियो।
प्रहरीले रविलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका उनलाई बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न गत मंगलबार भैरहवा ल्याइएको थियो।
सुप्रिम सहकारीको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा सारेर सहकारी कानुनविपरीत खर्च गरिएको आरोप रविमाथि छ। त्यस्तै लामिछानेको नाममा १ करोड ९६ लाख रुपैयाँ निकासा भएको पाइएको छ।
यसै प्रकरणमा उनका व्यापारिक साझेदार छविलाल बन्जाडे जोशीसँग यसअघि नै बयान लिएर पोखरा पठाइसकिएको छ। अर्का साझेदार जीबी भनिने गीतेन्द्रबाबु राई भने फरार छन्।