एनपीएल : इंग्ल्याण्डका रवि बोपाराले चितवन राइनोजबाट खेल्ने
काठमाडौं । चितवन राइनोजले इंग्ल्याण्डका अनुभवी खेलाडी रवि बोपारालाई नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अनुबन्ध गरेको छ ।
बोपाराले अब मंसिर १५ देखि सुरु हुने एनपीएल चितवन राइनोजबाट खेल्नेछन् । राइनोजले शुक्रबार विज्ञप्तिमार्फत बोपारालाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको जनाएको हो ।
चितवनले अनुबन्ध गरेको बोपारा पाँचौ विदेशी खेलाडी हुन् । चितवनले यसअघि नै दक्षिण अफ्रिकाका मर्चेन्ट डे ल्याङ, इंग्ल्ल्याण्डका लुक बेन्केनस्टेइन, अफगानिस्तानका हसन एइसाखिल र नामिबियाका जान निकोल लोफ्टी-इटनलाई अनुबन्ध गरिसकेको छ ।
३९ वर्षीय भेट्रान ब्याटिङ अलराउण्डर बोपाराले इंग्ल्याण्डका लागि १३ टेष्ट, १२० ओडिआई र ३८ टी-२०आई खेल खेलेका छन् । उनी ओपनिङ र मिडल अर्डर दुवै पोजिसनमा ब्याटिङ गर्न सक्षम खेलाडी हुन् । दायाँहाते ब्याटिङ गर्ने उनले आफ्नो करियरमा ४७८ टी-२० खेलमा ९ हजार ४८६ रन बनाएका छन् भने २९१ विकेट पनि लिएका छन् ।
उनले इंग्ल्याण्डको राष्ट्रिय टिमबाहेक आईपीएल, बीबीएल, पिएसएल, सीपीएल, एलपीएललगायत विश्वका धेरै फ्रेन्चाइज टी२० लिग खेलेका छन् । भाइटालिटी टी-२० ब्लास्ट र दी हन्ड्रेडमा गरी ५ हजार भन्दा बढी रन बनाएका छन् ।
नेपालको क्रिकेट क्रेजबारे सबैलाई थाहा भएको र हरेक खेलाडी नेपालको समर्थकसामू आएर खेल्न चाहने बताउँदै बोपाराले आफू चितवन राइनोजको जर्सी लगाएर खेल्न उत्साहित रहेको बताएका छन् ।
यस्तै चितवन राइनोजका म्यानेजिङ डिरेक्टर आयुष न्यौपानेले बोपाराजस्तो अनुभवी खेलाडीको आगमनले टिमको सन्तुलन राम्रो हुने र उनको अनुभव र नेतृत्वदायी क्षमताले ड्रेसिङ रुमलाई फाइदा पुग्ने बताए ।
युवा अलराउण्ड कुशल मल्ल मार्की प्लेअर रहेको चितवनमा भेट्रान खेलाडी शरद भेषावकर पनि छन् । यस्तै प्रशिक्षकमा उमेश पटवाल छन् ।
एनपीएल यही मंसिर १५ गतेदेखि काठमाडौंमा सुरु हुँदै छ ।