एनपीएलका लागि भित्रिए ६ विदेशी कमेन्टेटर
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर १५ देखि पुस ६ गतेसम्म हुने नेपाल प्रिमियर लिगका लागि ६ विदेशी कमेन्टेटर भित्र्याएको छ । क्यानले बुधबार नेपाल प्रिमियर लिगको अफिसियल पेजमार्फत ६ विदेशी कमेन्टेटरको नाम सार्वजनिक गरेको छ ।
अमेरिकाका एन्ड्रयु लेनर्ड नेपाल क्रिकेटका चर्चित कमेन्टेटर हुन् । उनले नेपालका अधिकांश खेलहरुमा कमेन्ट्री गर्दै आएका छन् । एन्ड्रयुसहित एचडी अकरम्यान, ड्यारेन गौफ, श्रीधरण श्रीराम, मोनाली पटेल र मिखाइल वासवानीलाई क्यानले कमेन्ट्रीका लागि भित्र्याएको हो ।
अकरम्यान दक्षिण अफ्रिकाका पूर्वक्रिकेट खेलाडी हुन् । उनले दक्षिण अफ्रिकाबाट सन् १९९८ मा टेस्ट क्रिकेट खेलेका थिए । अकरम्यानले क्रिकेट करियरपछि कमेन्टेटरको रूपमा काम गरिरहेका छन् ।
ड्यारेन इङ्ल्यान्डका पूर्वक्रिकेटर हुन् । उनले इङ्ल्यान्डबाट टेस्ट, ओडीआई र टी-२०आई खेल खेलेका छन् । उनले १५९ ओडीआईमा २३५ विकेट लिएका छन् ।
भारतका श्रीधरणले पनि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । उनले सन् २००० देखि २००४ सम्म भारतबाट खेलेका थिए । मोनाली क्यानडाकी पूर्वक्रिकेटर हुन् । उनले सन् २०१९ मा क्यानडाबाट दुई टी-२० आई खेल खेलेकी थिइन् । मिखाइल भारतका पत्रकार तथा कमेन्टेटर हुन् ।