रित्तो गाग्री प्रहरीले लगेपछि खाली हात सिंहदरबार छिरे धरानका मेयर
काठमाडौं। वर्षौँदेखि खानेपानी अभाव टार्न दबाबका लागि काठमाडौं आइपुगेका धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ सिंहदरबार छिरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवलाई भेट्न भन्दै मेयर साम्पाङ मंगलबार सिंहदरबारमा पसेका हुन् ।
पटक पटक धरानमा पानी ल्याउन खानेपानी मन्त्रालयलाई ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको गुनासो मेयर साम्पाङले गरे। धरानमा खानेपानीको समस्या दीर्घकालीन समाधान गर्न सरकारलाई दबाब दिन काठमाडौं आउनु परेको मेयर साम्पाङले बताए।
रित्तो गाग्री बोकेर काठमाडौं आइपुगे धरानका मेयर
धरानका जनताको खानेपानीको दीर्घकालीन व्यस्थापन नभएसम्म सरकारलाई घच्घच्याउने उनले बताए । मेयर साम्पाङ रित्तो गाग्रीसहित प्रवेश गर्न सक्ने भन्दै सिंहदरबार दक्षिण गेटमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
धरानमा खानेपानीको समस्या रहेको भन्दै साम्पाङ रित्तो गाग्रीसहित सोमबार काठमाडौं आइपुगेका थिए । तर साम्पाङले ल्याएको रित्तो गाग्री प्रहरीले लगेको छ। प्रहरीले रित्तो गाग्री लगेपछि मेयर साम्पाङ खाली हात सिंहदरबार छिरेका हुन् । धरानको खानेपानी संकट टार्न सप्तकोशीबाट लाने आयोजनाका लागि केन्द्र सरकारले बजेट दिनुपर्ने माग साम्पाङको छ ।