अब नेपालको कुल क्षेत्रफल १४७६४१.२८ वर्ग किलोमिटर

काठमाडौँ। पाठ्यक्रम विकास केन्द्रले नेपालको नयाँ नक्सा अनुसार कुल क्षेत्रफलसहितको पाठ्य पुस्तक तयार पारेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेले मंगलबार ‘नेपालको भू-भाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ नामक पुस्तक सार्वजनिक गरेका हुन्।

‘नेपालको भू-भाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ नामक पुस्तक अनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर रहेको छ।

पुस्तकमा नेपालको पश्चिमोत्तर क्षेत्रको लिपुलेक र कालापानी बीचमा रहेको लिपु भञ्ज्याङलाई समेटेर लिम्पियाधुरा लिपुलेक क्षेत्रको करिब ४६०.२८ वर्ग किलोमिटर भू-भाग समावेश गरिएको छ। यसअघिको १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर क्षेत्रफलमा लिम्पियाधुरा क्षेत्र समेटिएको थिएन।

सरकारले गत ७ जेठमा सार्वजनिक गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा अनुसार पुस्तक तयार पारिएको हो।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को १९ भदौको बैठकले यो पुस्तकलाई विद्यालय तहमा सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्ने स्विकृति दिने निर्णय गरिसकेको छ।


ताजा समाचार