एकै दिन दुई हजार २० जना कोरोना संक्रमित थपिए

काठमाडौँ। बितेको २४ घण्टामा देशभर अहिलेसम्मकै धेरै २ हजार २० जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

यससँगै देशभर संक्रमितको कुल संख्या ६१,५९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये १७३ आईसीयूमा उपचाररत छन् भने ३६ जना भेन्टिलेटरमा रहेका छन्।

हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४३ हजार ८२० पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । पछिल्लो २४ घण्टामा ८७१ जना कोरोना संक्रमणमुक्त भएका छन्। नेपालमा संक्रमणमुक्त हुनेको दर ७१.१ प्रतिशत रहेको छ।

आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ। जसमा संस्थागत आइसोलेशनमा ९ हजार २९५ र होम आइसोलेशनमा ८ हजार ०८८ जना रहेका छन्। बितेको २४ घण्टामा ११ हजार ४५८ जनाको पीसीआर परिक्षण भएको छ।


ताजा समाचार