आर्सनललाई हराउँदै लिभरपुलको शत प्रतिशत नतिजा कायम

काठमाडौँ। नयाँ खेलाडी डिओगो जोटाले डेब्यु खेलमा गोल गर्दा डिफेन्डिङ च्याम्पियन लिभरपुलले आर्सनललाई हराउँदै प्रिमियर लिगको नयाँ सिजनमा शत प्रतिशत नतिजा कायम राखेको छ।

एनफिल्डमा भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै लिभरपुल ३–१ गोलले विजयी भएको हो। शुरुवाती दुई खेल जितेको आर्सनलले खेलको २५औँ मिनेटमा अलेक्सान्डर लाकाजेटको गोलको मद्दतले अग्रता लिएको थियो। तर, लगत्तै म्यान अफ द म्याच साडियो मानेले बराबरी गोल फर्काए।

३४औँ मिनेटमा ट्रेन्ट अलेक्सान्डर अर्नोल्डको क्रसमा गोल गर्दै एन्ड्रयू रोबर्टसनले लिभरपुललाई अग्रता दिलाए। खेलको अन्त्यतिर जोटाले अर्को गोल थप्दै लिभरपुलको जीत सुनिश्चित गरे।

यसअघि, खेल २–१ को स्थितिमा रहँदा लाकाजेटले बराबरी गर्ने सुन्दर अवसर गुमाएका थिए। लिभरपुलले घरेलु मैदानमा आर्सनलविरुद्ध खेलिएका लगातार ५ खेल जित्न सफल भएको छ।

जीतपछि लिभरपुल लिगको दोस्रो स्थानमा उक्लिएको छ भने आर्सनल लिगको पाँचौ स्थानमा रहेको छ। अन्य खेलमा एस्टन भिल्लाले फुलहामलाई ३–० गोलअन्तरले हराउँदै लिगको चौँथो स्थानमा उक्लिएको छ।


ताजा समाचार