प्रदेश ५ राजधानी: दाङको पक्षमा नेकपाको ह्विप, विपक्षमा कांग्रेसको ह्विप

काठमाडौँ। नेपाली कांग्रेसले प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङ देउखुरीको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।

तर, कांग्रेसका केही सांसदहरु पार्टीको ह्विप नमान्ने पक्षमा छन्। मंगलबार बस्ने प्रदेश सभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुनेछ। दाङको विपक्षमा मतदान गर्न प्रदेश ५ को कांग्रेस संसदीय दलले ह्विप जारी गरेको छ।

प्रदेश सरकारको निर्णयपछि कांग्रेसको अराजक गतिविधिका बीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले आईतबार स्थायी राजधानी दाङ देउखुरी र प्रदेशको नाम लुम्बिनी प्रस्ताव प्रदेश सभामा लगेका थिए।

राजधानी र नामबारे छलफल सुरू भएलगत्तै कांग्रेसले प्रदेशसभामा नारावाजी गरेको थियो। कांग्रेसका तीन सांसदले कुर्सी, टेबुल र माइक पनि तोडफोड गरेका थिए।

‘प्रदेशसभामा ८७ जना सांसद छन्। प्रदेशको नाम र राजधानी तोक्न दुईतिहाइ मत चाहिन्छ। त्यो मत सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपासँग छ।  नेकपाका ६१ सांसद छन्। ५८ सांसदले पक्षमा मतदान गरे भने नाम र राजधानी तोकिन्छ।

दाङ राजधानी सार्न नेकपाका १४ सांसदले विरोध गरे पनि नेकपाले दाङकै पक्षमा मतदान गर्न सोमबार ह्वीप जारी गरिसकेको छ। प्रदेशसभामा कांग्रेसका १९ सांसद छन्। यीमध्ये केही सांसद दाङ नै राजधानी हुनुपर्नेमा छन्।

प्रदेशसभामा जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन्। उनीहरूले कता मतदान गर्छन् खुलिसकेका छैनन्। कांग्रेस सांसद डिल्लीबहादुर चौधरीले दाङका विपक्षमा मतदान गर्ने ह्विप स्वीकार नगर्ने बताए।

दाङबाट निर्वाचित सांसद चौधरीले दाङ भालुवाङलाई राजधानी बनाउनुपर्ने बताए। ह्विप नमान्ने बरू कारवाही भोग्न तयार रहेको कुरा स्पष्ट पारे। उनले कांग्रेसका ६ जना सांसद दाङ राजधानी हुनुपर्ने पक्षमा रहेको खुलासा गरेका छन्।

कांग्रेसका दाङ, बर्दिया, रोल्पालगायत जिल्लाका केन्द्रीय सदस्यहरू भने दाङमै स्थायी राजधानी राख्ने पक्षमा देखिएका छन्। दीपक गिरी, किशौरसिंह राठौर, पार्वता डिसी चौधरी, शिला खड्का, गोपाल दहित, मंगलप्रसाद थारू, योगेन्द्र चौधरी, कृष्णकिशोर घिमिरे, सञ्जय गौतम र अमरसिंह पुनले दाङमा प्रदेशको स्थायी राजधानी हुनुपर्ने बताउँदै आएका छन्।


ताजा समाचार