जनलोकपाल गठन गर्न भट्टराईको प्रस्ताव

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठनको प्रस्ताव गरेका छन्।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार एक विज्ञप्ति जारी गरी बुढीगण्डकी जलविद्युत आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घुस लिएको प्रमाण पेश गर्न चुनौती पनि दिएपछि भट्टराईले यस्तो प्रस्तावअघि सारेका हुन् ।

बुधबार साझा भट्टराईले ट्वीटरमा लेखेका छन्,’बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं।सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं। म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु।’

२२ असोजमा गृहजिल्ला गोरखामा भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ घुस लिएको प्रमाण आफूसँग रहेको बताएपछि त्यो राष्ट्रिय चर्चाको विषय बनेको छ। २५ असोजमा प्रमुख विपक्षी नेपाली काँग्रेसले पनि बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको प्रमाण ल्याउन भट्टराईलाई चुनौती दिएको थियो । काँग्रेसलाई जवाफ दिँदै उनले छानविन प्रक्रिया आगाडि बढाए सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

नेकपा प्रवक्ता श्रेष्ठले आफ्नो अभिव्यक्तिको खण्डन गरेपछि भट्टराई पनि कटाक्ष गरेका छन् । गोरखा- २ बाट आफूसँग ७ हजार १ सय ७४ मतले पराजित श्रेष्ठ राष्ट्रियसभा सदस्यपछि भट्टराईले ट्वीटमा भने, ‘जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊॅ!’


ताजा समाचार