ब्राजिलमा बिरामीको मृत्युु भएपछि चिनियाँ भ्याक्सिन परीक्षण स्थगित

काठमाडौँ। चिनियाँ कोभिड १९ भ्याक्सिनको परीक्षण ब्राजिलमा रोकिएको छ।

स्वास्थ अधिकारीहरुले गम्भिर घटना रिपोर्ट गरेपछि परीक्षण रोकिएको बीबीसीले जनाएको छ। ब्राजिली स्वास्थ नियमनकर्ता एन्भिसाका अनुसार २९ अक्टुुबरमा यो घटना घटेको थियो, तर उनले यसबारे बिस्तृत जानकारी दिएनन्।

ब्राजिलमा भ्याक्सिनको परीक्षण गरिरहेको मेडिकल रिसर्च इन्स्टिच्युट बुटानटानका प्रमुख दिमास कोभासले स्थानीय मिडियालाई दिएको जानकारीअनुसार बिरामीको मृत्युसँग सम्बन्धित घटनाका कारण परीक्षण बन्द गरिएको हो । यद्यपि, यो मृत्युको सम्बन्ध भ्याक्सिनसँग नरहेको पनि उनले बताएका छन् । सिनोभ्याकले यस विषयमा ब्राजिलसँग सम्पर्क गरिएको जनाएको छ।

‘यो गम्भिर घटना भ्याक्सिनसँग सम्बन्धित नरहेको विश्वास बुटानटान इन्स्टिच्युटको रहेको हामीले बुुझेका छौं,’ कम्पनीले निकालेको विज्ञप्तिमा भनिएको छ,‘ब्राजिलमा यो क्लिनिकल अध्ययन (जिसिपी) गुुड क्लिनिकल प्राक्टिसको मापदण्डअनुसार अनुसार कडाईका साथ गरिएको छ र हामी भ्याक्सिनको सुरक्षालाई लिएर विश्वस्त छौं।’

चिनियाँ कम्पनी सिनोभ्याक बायोटेकले निर्माण गरेको भ्याक्सिन विश्वभर अन्तिम चरणको परीक्षण भइरहेका थुुप्रै भ्याक्सिनमध्ये एक हो। सिनोभ्याकले यस भ्याक्सिनको सुरक्षालाई लिएर आफु विश्वस्त रहेको बताउँदै आएको छ। यस कम्पनीले चीनमा हजारौं व्यक्तिलाई आपतकालिन प्रयोग कार्यक्रमअन्तर्गत प्रतिरोधी बनाउन भ्याक्सिनको प्रयोग गरिरहेको छ।

कोरोना भाइरसबाट अति प्रभावित देशमध्ये ब्राजिल एक हो। यहाँ ५६ लाखभन्दा धेरैमा संक्रमण देखिएको छ र अहिलेसम्म १ लाख ६३ हजारभन्दा धेरैले ज्यान गुमाएका छन्। ब्राजिलले गम्भिर घटना देखिएको भन्दै परीक्षण तत्कालका लागि स्थगित गरेपनि यस घटनाबारे स्पष्ट बताइएको छैन।

सिनोभ्याकको परीक्षण इन्डोनेशिया र टर्कीमा पनि चलिरहेको छ। इन्डोनेशियाको सरकारी स्वामित्वको औषधी कम्पनीले भ्याक्सिनको परीक्षण निकै प्रभावकारी रुपमा अघि बढिरहेको जनाएको छ।


ताजा समाचार