केपी ओली एक नम्बर भगौडा हुन्: डा.भीम रावल

काठमाडौँ। (नेकपा) प्रचण्ड–माधव समूहका नेता डा.भीम रावलले प्रधानमन्त्री तथा केपी ओलीलाई एक नम्बर भगौडाको संज्ञा दिएका छन्।

शुक्रबार कैलालीको धनगढी पुगेका प्रधानमन्त्रस् ओलीले प्रचण्ड-माधव समूहका नेताहरुलाई भगौडा भनेपछि नेता रावलले उक्त प्रश्नको जवाफ दिएका हुन्।

अछाम-काठमाडौँ सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै डा.रावलले भने, ‘नेपालको कम्युनिस्ट आन्दोलनलाई गोर्भाचोबको बाटोमा हिँडाउन खोज्ने, नेपाली देशभक्त जनताको शिर झुकाउने गरी अँधेरी रातमा समान्तहरुलाई भेट्ने, नेपाल कम्युनिस्ट पार्टीको चनावी घोषणापत्र, नीति तथा कार्यक्रमबाट भाग्ने भगौडा नम्बर कोही हो भने केपी शर्मा ओली हो।’

साथै नेता रावलले द्वन्द्वकालीन विषय उछालेर कार्यकर्ताको भावना भड्काउने दुस्प्रयत्न नगर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे। उनले भने, ‘तत्कालीन माओवादीमा काम गर्ने सबै योद्धा साथीहरुलाई हेगमा पुर्‍याउनु पर्छ भन्ने लाग्या हो भने उनीहरुलाई भन्दा पहिला केपी ओलीलाई हेग पुर्‍याउनुपर्छ। ‘किन कि हेग पुर्‍याउनुपर्छ भनिएमा व्यक्तिसँग सहमत गरेर आउने, शान्ति प्रक्रियामा ल्याउनुपर्छ भनेर कागजपत्रमा हस्ताक्षर गर्ने केपी शर्मा ओलीलाई पहिला हेग पुर्‍याएपछि मात्रै अरुलाई पुर्‍याउनु पर्‍यो कि परेन ?’

उनले प्रधानमन्त्री ओलीलाई साच्चिकै माओवादीले १७ हजार मान्छे मारेको, अपराध गरेको भन्ने लागेको भए शान्ति प्रक्रियामा आउँदा कागजपत्रमा किन हस्ताक्षर गरेको? त्यहि माओवादीसँग किन पार्टी एकता गरेको ? भन्दै प्रश्न गरेका छन्। उनले अघि भने, ‘केपी ओली र उनका मतियारहरु कथित साइबर सेनाको आशय द्वन्द्वकालका सबैलाई हेगमा पुर्‍याउने हो भने म चुनौती दिन्छु नेपाली सेनामा एकीकृत भएका माओवादीका पूर्वलडाकूहरुलाई निस्काशित गर्नुहोस्। तिनीहरु सबलाई गिरफ्तार गरियोस्। तागत छ ?’

पूर्व एमाले र माओवादीहरु आफ्नो समूहमा आइहाल्छन् कि भनेर झुटा प्रचार गरिएको उनको दाबी छ। ‘मानिसहरुको भावना भड्काएर देशको प्रधानमन्त्रीले यस्ता (हेग पुर्‍याउने) कुरा गर्नु लज्जास्पद हो। यो देशलाई विग्रहमा पुर्‍याउने भनाइ हो। यसको कुनै अर्थ छैन। त्यहाँ कसले कसलाई के गर्‍यो भन्ने हिसावकिताब सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्छ। शान्ति प्रक्रियाका कामहरु अगाडि बढेका छन्। आज एमाले र माओवादी होइन नेकपा छ र हामी जनताको जनवादमा हिँडिरहेका छौं।’


ताजा समाचार