जनतालाई निराश नबनाउने मन्त्री थापाको प्रतिवद्धता (भिडियोसहित)

काठमाडौँ। नव नियुक्त खानेपानी मन्त्री मणीचन्द्र थापाले आफू कठिन समयमा मन्त्री बनेको भएपनि जनतालाई निराश नबनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

शुभनगर टोल विकास समिति र युवा गैरसरकारी संस्था महासंघले शनिबार भक्तपुरमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री थापाले उक्त कुरा बताएका हुन्।

जनताको स्तरमा आएर गुनासाहरु सुन्ने र विकासका जोड दिनेमा आफू प्रतिवद्ध रहेको बताए। साथै उनले नयाँ निर्वाचनले मात्रै मुलुकको सङ्कट समाधान गर्ने दाबी गरे।

मुलुकलाई स्थायित्वमा लैजानका लागि सरकारले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको घोषणा गरेको जानकारी दिँदै उनले समयमै नयाँ निर्वाचन गर्नु नै सरकारको आधारबिन्दु भएको स्पष्ट पारे।

संसद् विघटनका विषयमा आएका टीकाटिप्पणीलाई सङ्केत गर्दै उनले कुनै पनि विषयमा राजनीतिक टिप्पणी र विष्लेषण हुनुलाई स्वाभाविकरुपमा लिएको बताए। उनले अहिलेको अवस्थामा निर्वाचनमा जानुपर्ने बाध्यात्मक परिस्थिति बनेको जानकारी दिए।

बहुमत प्राप्त सरकार हुँदा पनि सही ढङ्गले सञ्चालन हुन नसक्दा उक्त निर्णय लिएको उनको भनाइ थियो। ‘पार्टीभित्रको झगडाले देश अस्थिरतातिर जान नपाओस् भनेर त्यसलाई रोक्न निर्वाचन घोषण गर्नु परेको हो’, उनले थपे, ‘यो राजनीतिक निर्णय हो कानूनी निर्णय होइन, राजनीतिक निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई छ।’


ताजा समाचार