प्रधानमन्त्री ओलीको नाममा भीम रावलको खुला पत्र

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली
                 तथा
               पूर्वअध्यक्ष,

केन्द्रीय कमिटी, नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०
काठमाडौ‌ं।

प्रिय प्रधानमन्त्रीजी,

मैले आजसम्म तपाईंलाई कुनै पत्र लेखेको छैन, पहिलो पटक लेख्दैछु। अहिले प्रधानमन्त्री पदमा हुनुभएपनि तपाई‌ंको तेह्रथुम आठराईदेखिको इतिहास हेर्दा म जस्तै आमनागरिककै श्रेणीमा पर्ने देखेर प्रिय प्रधानमन्त्रीजी भनी सम्बोधन गरेको छु । यो पत्र कुनै जाँगरका साथ लेख्न मन लागेर लेखेको होइन । तपाई‌ंले २०७७ साल पुस २४ गते धनगढीको एउटा आमसभामा प्रधानमन्त्रीको गरिमा र मर्यादालाई समेत ख्याल नगरी तथ्यहीन कुरा गर्नुभएकोले सत्य-तथ्यको स्मरण गराउन यो पत्र लेख्न बाध्य भएको छु । देशको प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्ति गलत सूचनाको आधारमा बरालिँदा देश र जनताले दुःख पाउनसक्ने र स्वयं त्यस्तो महत्वपूर्ण पदको मर्यादा क्षतविक्षत हुनसक्ने स्थितिप्रति संवेदनशील हुनुपर्छ भन्ने मेरो आशय रहेको छ।

तपाईंसँग २०३२ सालमा केन्द्रीय कारागारमा पहिलो भेट भएदेखि पञ्चायती कालमा हाम्रो त्यति सघन भेटघाट हुन सकेन । तर २०४८ सालमा बहुदलीय व्यवस्थाको स्थापना भएपछि तत्कालीन नेकपा (एमाले) का सबै आरोह-अवरोहमा हामीसँगै थियौं । यस अवधिमा तपाई‌ंले मलाई अवश्य पनि राम्ररी चिन्नुभयो होला । तपाईंलाई पनि मैले कम चिनेको छैन । त्यसबेलाका विभिन्न घटनाक्रम, परिदृश्य तथा तपाईंको व्यवहार र कार्यका विभिन्न पत्रहरू अहिले म खोल्न गइरहेको छैन । भविष्यमा आवश्यकता अनुसार त्यो गर्दै गरौंला । यहाँ म तपाईंले धनगढीमा गर्नुभएको भाषणको सन्दर्भमा मात्र सीमित हुन चाहन्छु ।

तपाईंको हतासा र उत्तेजनापूर्ण भाषण मैले सुनें । तपाईंले मेरो स्मरण गर्नुभएछ । सुदूरपश्चिमको सभामा बोल्दा तपाईंले मेरो स्मरण गर्नुभएकोमा धन्यवाद । तपाईंले मेरो नाम नलिनु भएपनि मलाई भनेको भन्ने स्पष्ट बुझिनेगरी भन्नुभयो, “अछामको एउटा केटो बाटोमा हिँड्दाहिँड्दै पुलिसले समाएर जेलमा ल्याएर मैले राजनीति दिएको थिएँ । यस प्रदेशको विकासको समस्या ती मान्छे हुन् । अब यस प्रदेशको समस्या समाधान भएको छ । पिलो निचोरेर ओजन घट्दैन । दुईचार जना पिलो निचोरिएझैं भएका हुन् ।”

तपाईंले यति भन्नुभएपछि मलाई सत्य–तथ्य खोल्न सजिलो भएको छ । तपाईं र मेरो उमेरमा करिब पाँच वर्षको मात्र फरक छ । केन्द्रीय कारागारमा २०३२ सालमा भेट हुँदा तपाईं प्रवेशिका परीक्षा उत्तीर्ण गरेको २३ वर्षको ‘केटो’ हुनुहुन्थ्यो भने म १९ वर्षको आई.ए.पूरा गर्नै लागेको ‘केटो’ । तपाईंले २०२८ सालमा प्रवेशिका परीक्षा दिनुभयो भने मैले २०२९ सालमा । तपाईंले २०३२ सालको विद्यार्थी आन्दोलन र मसँगै केन्द्रीय कारागारमा बन्दी बनाइएका अन्य विद्यार्थीबारे थाहा नपाएर मलाई “बाटोमा हिँड्दा हिँड्दै पुलिसले समाएर जेलमा ल्याएको” भन्नुभएको होइन भन्ने मैले बुझेको छु ।

तपाईंले एकातर्फ त्यसबेलाको विद्यार्थी आन्दोलनलाई र अर्कोतर्फ मलाई होच्याउने चेष्टा गर्नुभएको हो । तपाईंले २०६१/६२ को जनआन्दोलनलाई “बयलवाडा चढेर अमेरिका पुग्नसकिँदैन” भनेर होच्याउन खोज्दैमा त्यो आन्दोलनलाई कुनै फरक नपरेझैं मलाई होच्याउन खोजेर केही फरक पर्दैन । तर पार्टी अध्यक्ष र प्रधानमन्त्री जस्तो अग्लो पदमा पुग्नुभएका तपाईंले विद्यार्थी आन्दोलनको सञ्चालन गर्दा पञ्चायती शासनद्वारा गिरफ्तार भई कारागारमा बन्दी तुल्याइएको मलाई “मैले राजनीति दिएको थिएँ” भन्ने धृष्टता कसरी गर्नसक्नुभयो, आश्चर्य लागेको छ।

कि तपाईंले कारागारमा मसँग भेट हुनुभन्दा पहिल्यै जेलबाट बाहिर आएर मलाई प्रशिक्षण दिएको सपना देख्नुभयो ? तपाईसँग भेट हुनुअघि नै म क्याम्पसमा विद्यार्थी आन्दोलनको नेतृत्व गर्दा गिरफ्तार भएर कारागारमा बन्दी बनाइएको होइन र ? तपाईसँग त केन्द्रीय कारागारमा मेरो सामान्य परिचय मात्र भएको हो । राधाकृष्ण मैनालीको नेतृत्वमा रहेका झापालीहरूको मेसमा तपाईं हुनुहुन्न’थ्यो । उहाँहरूले तपाईंका कतिपय कुराहरू अवसरवादी देखिएकाले धेरै कुरा नगर्नु भन्नुभएकोले मैले तपाईसँग कुनै राजनीतिक कुरा नै गरिनँ । प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा रहेर झूटा बोल्न किन नहिच्किचाउनु भएको ?

सुदूरपश्चिमका साथै राष्ट्रियस्तरमा विगत ४७ वर्षदेखि कम्युनिस्ट पार्टीको विस्तारमा कटिबद्ध हुँदै गत आमनिर्वाचनमा तपाईंलाई प्रधानमन्त्री बन्नको लागि सुदूरपश्चिम प्रदेशबाट आवश्यक पर्ने स्थानमा पार्टीलाई विजयी गराउन समेत नेतृत्व गरेको मलाई “समस्या” भन्दै तपाईंले पार्टी फुटाएपछि “समस्या हटेको” भन्नुको तात्पर्य मैले बुझेको छु । तपाईंका राष्ट्रहित, संविधान र पार्टीको सिद्धान्त, विधि र नीति विरोधी काम कुरालाई रोक्न मैले जुन भूमिका खेल्दै आएको थिएँ त्यसप्रति तपाईंको असीमित आक्रोश छ।

अब तपाईंले अलगै पार्टी खोल्ने दुष्कर्म गर्नुभएपछि उक्त कामहरू ढुक्कसँग गर्नसकिने ठान्नुभएको होला। तर मजस्तै देशभक्त नेपालीहरू त्यस्ता गलत कामका विरुद्ध निरन्तर जुझिरहने छन्। वस्तुतः देशको लागि सबभन्दा ठूलो “समस्या” तपाईं नै हुनुभएको कुरा अनेकौं तथ्य र घटनाक्रमले पुष्टि गरिसकेका छन् । केन्द्रीय कमिटीका हाल कायम ४३४ जनामध्ये झण्डै दुईतिहाइ सदस्यहरु तथा नेकपाका देशभरि रहनुभएका हजारौं नेता, कार्यकर्ता र सदस्यहरूलाई “पिलो”, “दुई/चार जना” र “केही केशहरू” भनेर तपाईंले आफ्नो फुटपरस्त, अलोकतान्त्रिक र पार्टीविरोधी दृष्टिकोण स्वयं उदांग गर्नुभएको छ।

तपाईंले मन्त्री पद दिने वा नदिने भन्ने कुरा व्यक्तिगत सम्पत्ति जस्तो ठान्ने दृष्टिकोणका साथ मलाई “मन्त्री बनाउन” नमानेकोले रिसाएको भनी कुप्रचार गर्नुभएको रहेछ । म तपाईंलाई सोध्न चाहन्छु-तपाईसँग मैले कुन दिन, कुन मिति र कहाँ मन्त्री पदका लागि आग्रह गरें । मैले त तपाईंका गुटका मानिसहरुले मन्त्री हुनको लागि आग्रह गर्दा अस्वीकार गरिदिएको तपाईंलाई अवश्य जानकारी हुनुपर्छ । नेपाली कांग्रेसका सभापति स्वयंले नेतृत्व गरेको प्रदेशबाट अत्यधिक मतका साथ चुनाव जिताउँदा त्यहाँबाट एकजना पनि मन्त्री नबनाएर सामान्य राजनीतिक नैतिकता र मान्यता नदेखाउने तपाईंले अहिले पार्टी फुटाउन मन्त्री पदको अस्त्र दुरुपयोग गर्दा “खुसी हुनुपर्ने” भनी कसरी अर्ति दिनसक्नुभयो ? वनसम्बन्धी मुद्दा खेपेको व्यक्तिलाई वनमन्त्री बनाउने जस्तो अनैतिक काममाथि पर्दा हाल्न तपाईंले अरूतर्फ “सखुवाघारी फाँडेर वन सिध्याउने योजना तुहियो, पर्नु पिर पर्‍यो । सालघारी मासेर आफु सप्रिन खोज्ने तत्वहरुको बेग्लै मकसद र उद्देश्य छ ।” भनी भ्रम सिर्जना गर्न खोज्नुभएको छ । काठतस्करीमा मुद्दा खेपेकालाई वनमन्त्री बनाएर “सखुवाघारी फाँडेर वन सिध्याउने” र “सालघारी मासेर आफू सप्रिन खोज्ने” योजना तपाईं स्वयंको रहेको भनेर किन नभन्ने ?

भारतीय अतिक्रमणमा परेका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समावेश गरी भारतले नक्शा प्रकाशित गरेपछि देशभक्त नेपालीहरुको आवाजसँगै मैले पनि आवाज उठाएको थिएँ । हाम्रो भूमि भारतले आफ्नो नक्सामा देखाएपछि त्यसको विरोध गर्नुका साथै नेपालले आफ्नो भूमि समावेश गरी नक्सा प्रकाशित गर्नुपर्छ भनी देशभक्त नेपालीहरू, संसदीय समितिहरु र मजस्ता जनप्रतिनिधिहरूले उठाएको आवाज तपाईंलाई मन नपरेर संसदभित्र र बाहिर कटाक्ष गर्नुभएको बिर्सनु त भएको छैन होला नि ? पछि कोरोना महामारीको बीचमा भारतीय रक्षामन्त्रीले हाम्रो उक्त क्षेत्रमा सडककै उद्घाटन गरेपछि त्यसविरुद्ध तथा नेपालले आफ्नो नक्सा प्रकाशित गर्नुपर्छ भनी उठेको आवाज एवं पार्टीको निर्णय थेग्न नसकेपछि मात्र तपाई नक्सा प्रकाशित गर्न तयार हुनुभएको होइन र ?

नक्सा त दबाबमा आएर प्रकाशित गर्न तपाईं तयार हुनुभयो तर सीमासम्बन्धी अन्तर्राष्ट्रिय मान्यता तथा नेपाली भूभागमा गरिएको अतिक्रमणको यथार्थ चित्रण गरी सरकारकै एक निकायले प्रकाशित गरेको पुस्तकमाथि प्रतिबन्ध लगाउने तपाईंको कार्यले के बुझाउँछ ? साथै नेपालले नक्सा प्रकाशित गर्दा कुनै अर्को देशको “उक्साहट” मा गरेको भनी नेपालको अपमान गर्नेलाई नै नेपालमा कु-समयमा आमन्त्रण गरी सम्मान गर्न लगाउने तपाईं नै होइन र ? यस्तो सत्य–तथ्यमाथि पर्दा हाल्न तपाईंले धनगढीमा गएर “नक्सा प्रकाशित गरेकोमा उखरमाउलो” गरिएको भनी भ्रम फिंजाउने व्यर्थको प्रयास गर्नुभएको छ ।

तपाईंले आफ्नो भाषणमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुमत पक्षलाई “भगौडा” भन्दै त्यस्ताका पछि नलाग्न पनि भन्नुभएको रहेछ । यसबारे पनि संक्षेपमा चर्चा गरेर तपाईंलाई यथार्थको सम्झना गराउनु सामयिक हुन्छ। झापा जिल्लामा रामनाथ दाहाल पक्राउ पर्नुभएपछि तपाईं २०२९ साल कार्तिकमा भागेर मोरङमा केही समय माधव कुमार नेपालको डेरामा बसी त्यहाँबाट भागेर भारतको गोरखपुर हुँदै नैनिताल गई तीन महिना उखु गोडेर बस्नुभएको हो कि होइन ? त्यहाँबाट फेरि तपाईं रौतहट आएका बेला गिरफ्तार हुनुभएको हो कि होइन ? तत्कालीन नेकपा (एमाले)मा तपाईंले निरन्तर गुटबन्दी गरेर पार्टीको विधिबाट भाग्ने प्रवृत्ति देखाउनु भएको हो कि होइन ?

दुई ठूला कम्युनिस्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीच एकीकरणका बखत तपाईं स्वयंले हस्ताक्षर र सहमति गर्नुभएका घोषणा, सम्झौताबाट तथा त्यसपछि पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीका बैठक पार्टी विधान अनुरुप बस्न नमानेर तपाईं भाग्नुभएको हो कि होइन ? जनताले पाँच वर्षका लागि जनमत दिएको प्रतिनिधि सभा भंग गरेर तपाईं संसदबाट भाग्नु भएको हो कि होइन ? सात दशक लामो कठोर संघर्ष र ठूलो बलिदान पश्चात् कम्युनिस्ट पार्टीले हासिल गरेको उपलब्धिको सदुपयोग र रक्षा गर्ने कामबाट भाग्दै तपाईंले पार्टी विभाजन जस्तो अत्यन्त विश्वासघाती काम गर्नुभएको हो कि होइन ? यसरी भाग्नेलाई नै विवेकशील मानिसहरुले “भगौडा” भन्ने गर्छन्, होइन र ? उत्तेजना, आवेश र अमर्यादित शब्दजालले होइन तथ्यगत किसिमले जवाफ दिनुहुनेछ भन्ने अपेक्षा गरेको छु।

तपाईंले धनगढीमा वन मुद्दा लागेका वनमन्त्रीमार्फत मलाई “पागल” भन्ने जस्तो निकृष्ट शब्दका साथ गालीगलौज गर्नलगाउनु भएको पनि मैले देखें । यसस्तरमा झरेर देशको प्रधानमन्त्रीले सम्बोधन गर्ने सभामा मन्त्रीले गालीलौज गर्नु विक्षिप्त, हतास र उदण्ड मनस्थिति र चरित्रको द्योतक हो भन्नेमा कसैको दुई मत हुनै सक्दैन । देशका लागि यो राम्रो लक्षण होइन । राज्य चलाउनेहरूमा देखिने यस्तो विक्षिप्त मानसिकताको समयमै राम्ररी चिकित्सकीय परीक्षण गराई निदान र उपचार गराउनु सम्बन्धित व्यक्ति र सरकारको स्वास्थ्यको लागि एवं देशका लागि हितकर हुन्छ, होइन र ? किनकि सनकी, विवेकहीन र उदण्ड मानिसहरुको हातमा राज्य सञ्चालनको जिम्मेवारी जाँदा राष्ट्रियता, लोकतन्त्र र जनताको भविष्य नै खतरामा पर्न सक्छ।

तपाईं विभिन्न कार्यक्रममा जस्ता शब्द, शब्दावली र भावभंगीका साथ आफ्नो प्रतिरक्षा गर्न बल गरिरहनुभएको छ त्यसका लागि तपाईंलाई पर्याप्त समय आवश्यक पर्ने भएकोले अहिले धेरै लामो पत्र नलेख्नुहोला। तपाईंका अभिव्यक्ति अनुरूप थप कुरा लेख्दै गरौंला। झण्डै एकवर्ष बढी समयदेखि सिंहदरबारमा प्रधानमन्त्रीको कुर्सीमा बसेर काम गर्नुभएको छैन, स्वास्थ्यप्रति विशेष ध्यान दिनुहोला । सुस्वास्थ्यको कामना सहित !
धन्यवाद ।

भीम रावल
सदस्य, स्थायी कमिटी
इञ्चार्ज, सुदूरपश्चिम प्रदेश कमिटी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

मितिः २०७७।९।२८


ताजा समाचार