प्रतिबद्धता भुल्दै राजनीतिक दल

काठमाडौँ। गत आइतबार दैलेख सदरमुकाममा प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गर्दै उक्त समूहको भव्य र्‍याली निस्कियो। त्यसमा युवायुवतीदेखि वृद्धवृद्धासम्मको बाक्लो उपस्थिति थियो। सयौं जना सहभागीमध्ये कमैले मास्क प्रयोग गरेका देखिन्थे। अधिकांश मास्कबिना र्‍यालीमा सहभागी भए।

सोही दिन रुकुम पश्चिममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुलाई असंवैधानिक कदम भन्दै गरिएको विरोध र्‍यालीदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा प्रचण्ड–माधव समूहले गरेको प्रशिक्षण कार्यक्रममा पनि उस्तै स्थिति थियो। शनिबार प्रचण्ड–नेपाल समूहको दैलेख दुल्लुमा भएको कार्यक्रममा पनि स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्ड अपनाइन। विश्वभरि फैलिएको कोभिड–१९ ९कोरोना भाइरस० न्यूनीकरण नहुँदै यसबाट बच्न न त सामाजिक दूरी कायम गरिएको थितो न सुरक्षित रहन मास्क थियो।

त्यो दृश्य देख्दा लाग्थ्यो, कोरोना भाइरस न्यूनीकरण भइसक्यो। तर अवस्था त्यस्तो छैन। कोरोना भाइरसको औषधि तथा खोप बनिसकेको अवस्था छैन र संक्रमण रोकथाम पनि भएको छैन। परीक्षण दर घटे पनि संक्रमित र यसबाट मृत्यु हुने दर नघटेकाले यसबाट सजगता अपनाउन जरुरी भए पनि दलहरूले आफ्नै प्रतिबद्धता उल्लंघन गर्दा जोखिम झन् बढाएको छ। कोरोना भाइरस फैलिनुभन्दा अघि दलहरूले यसबाट बच्न सामाजिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने, नेपाल सरकारले निर्धारण गरेको मापदण्डअनुसार सभा, सम्मेलन, भेला, गोष्ठी इत्यादि नगर्ने प्रतिबद्धता जनाएका थिए। तर कोरोना भाइरस निर्मूल नहुँदै दलहरूले उक्त प्रतिबद्धता उल्लंघन गरेका छन्।

कर्णालीमा पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएको भन्दै प्रचण्ड–नेपाल समूह र नेपाली कांग्रेसले विरोध कार्यक्रम गर्दै आएका छन् भने प्रधानमन्त्री ओली समूह ओलीको बचाउमा सडकमा उत्रिएका छन्। जसले कोरोना भाइरस संक्रमणको झन् जोखिम फैलाएको छ। राजनीतिक दलले न्यूनतम मापदण्ड पालना नगरेको नागरिक समाज सुर्खेतका अगुवा पीताम्बर ढकालले बताए। ‘अहिले नै कोरोना भाइरस न्यूनीकरण भइसकेको छैन,’ उनले भने, ‘पछिल्ला केही दिन परीक्षण कम हुँदा कोरोना भाइरस संक्रमितको संख्या कम मात्र देखिएको हो। अहिले पनि कोरोना भाइरस बढ्दो छ।’ यस्तो अवस्थामा सरकारले पालना गरेका मापदण्ड अपनाउनु पर्ने उनको भनाइ छ। अहिले भइरहेको हेलचक्र्याइँले कोरोना भाइरसलाई मत्थर होइन अझ बढावा गर्ने भन्दै उनले भने, ‘यो त नागरिकको स्वास्थ्य सुरक्षामा गम्भीर लापरबाही भयो।’ राजनीतिक दलको नेतृत्वले अरूलाई सिकाउन छाडेर आफैं आफ्ना प्रतिबद्धता उल्लंघन गर्दै जानुले नागरिकको स्वास्थ्यप्रति दलहरू गम्भीर नभएको उनको भनाइ छ।

‘दलहरूले यतिबेला धेरै मान्छे जम्मा गरेर कार्यक्रम गर्नुभन्दा प्रविधिको प्रयोग गर्नुपर्ने,’ सुर्खेतकी गीता चपाईले भनिन्, ‘यसरी जाँदा त कोरोनाको जोखिम बढेको छ।’ अहिले कोरोना भाइरसलाई सामान्य रूपमा लिइए पनि न्यूनीकरण नहुँदासम्म यसलाई सामान्य रूपमा लिन नहुने उनको सुझाव छ। भेला सम्मेलन गर्दा सामाजिक दूरी कायम नहुने भन्दै अधिवक्ता दुर्गाप्रसाद सापकोटाले परिस्थितिलाई बुझेर सोहीअनुसार कार्यक्रम गर्नुपर्ने बताए। ‘शान्तिपूर्ण तरिकाले विरोध वा समर्थन गर्न पाउने अधिकार छ,’ उनले भने, ‘तर अधिकार हुँदाहुँदै पनि परिस्थितिलाई ध्यान दिएर काम गर्नुपर्छ।’

कोरोना भाइरसको औषधि र खोपको विकास भइसको अवस्थामा यसरी सामाजिक दूरी कायम नगरी र स्वास्थ्य सुरक्षाका विधि नअपनाएर भेला सम्मेलन गर्नु नागरिकको स्वास्थ्यमाथि ख्याल नगर्नु रहेको उनले बताए। अझ जिल्ला दौडाहामा निस्केका नेताहरू पनि सबैको सम्पर्कमा आउँदा यसले जटिलता थपेको स्थानीयको भनाइ छ। नेपाल सरकारले गरेको लकडाउन अहिले पूर्णरूपमा खुला भइनसकेकाले न्यूनतम मापदण्ड अपनाएर राजनीतिक दलले गतिविधि गर्नुपर्नेमा उनीहरूको जोड छ। यो समाचार नागरिक दैनिकले प्रकाशित गरेको छ।


ताजा समाचार