बेलायतमा कोरोनाबाट १ लाख १७ हजार बढीको मृत्यु

लन्डन। ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ को पछिल्लो तथ्याँक अनुसार बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख १७ हजार नाघेको छ । जसमा कोरोना संक्रमण पुष्टि भएको २८ दिनभित्र मृत्यु हुनेहरु पर्दछन् ।

आइतबार सार्वजनिक तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप २५८ जना संक्रमितको मृत्यु भएको छ । यो संख्या धेरै पछिको सबैभन्दा कम मृतक संख्या हो । यससंगै बेलायतमा कोरोनाका मृतक संख्या एक लाख १७ हजार १६६ पुगेको छ ।

यसैगरि बितेको २४ घन्टामा थप १० हजार जना नयां संक्रमित थपिएको स्वास्थ्य विभागले जानकारी दिएको छ । संक्रमित संख्या पनि निकै समयपछि दश हजारमा झरेको हो । बेलायतमा आकुल संक्रमितको संख्या ४० लाख ३८ हजार ७८ पुगेको छ ।

संक्रमण दरमा कमी आएसंगै बेलायतका अस्पतालमा उपचार गराउनेको संख्या पनि घटेको स्वास्थ्य विभागले जनाएको छ । हाल बेलायतको अस्पतालमा २३ हजार ३४१ जनाको उपचार भइरहेको छ भने दुई हजार ९४३ जना कोरोना संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ।

बेलायतमा एक करोड ५० लाख बढीले लगाए खोप

बेलायतमा एक करोड ५० लाख भन्दा बढीले कोरोना विरुद्ध खोपको पहिलो डोज लिइसकेका छन् ।‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ को पछिल्लो तथ्याँक अनुसार हालसम्म एक करोड ५० लाख ६२ हजार १८९ जनाले खोपको पहिलो डोज लिएका हुन् ।

जसमध्ये पांच लाख ३७ हजार ७१५ जनाले खोपको दोस्रो ९अन्तिम० डोज लिएका छन् । प्रधानमन्त्री बोरिस जोन्सनले फेब्रुअरी १५ सम्ममा १।५ मिलियन बेलायतवासी जनतालाई कोरोना विरुद्धको खोप दिने घोषणा गरे अनुरुप निर्धारित समयमै लक्ष्य पूरा भएको छ ।

आफूले गरेको बाचा पूरा भएको उपलक्ष्यमा प्रधानमन्त्रीले सोमबार पत्रकार सम्मेलन गर्ने भएका छन् । गत वर्ष डिसेम्बर ८ तारिखबाट कोरोनाको खोप शुरु गरिएको थियो । प्राथमिकताका आधारमा खोप वितरण गरी अनुसार भोलि सोमबारबाट ६५ वर्षदेखि ६९ वर्षबीचका मानिसलाई खोप दिन लागिएको छ ।

हालसम्म ७० वर्षमाथिका चौथो ग्रुपका मानिसहरुलाई खोप वितरण गरिएको र अझै पनि शीर्ष समूह अन्तर्गतका स्वास्थ्यको कारणले जोखिममा परेका, केयर होम रेसिडेन्ट, अग्रपंक्तिमा काम गर्ने हेल्थकेयर वर्कर्सहरु लगायतकालाई प्राथामिकतामा नै राखिएको छ ।

बेलायतमा हाल फाइजर र अक्सफोर्डद्वारा विकसित दुईवटा खोप वितरण भइरहेको छ । एक व्यक्तिको लागि दुई डोज लगाइने उक्त खोपलाई तीन देखि चार हप्ताको फरकमा लगाइने भनिएपनि बेलायत सरकारले १२ हप्तासम्मको फरकमा लगाउने तयारी गरेको छ ।


ताजा समाचार