चैत मसान्तभित्र स्ववियु निर्वाचन गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाले विद्यार्थी संगठनहरुसँगको सहकार्यमा तत्कालै स्ववियुको निर्वाचन मिति तय गरिने आश्वासन दिएका छन्।

स्वतन्त्र विद्यार्थी युनियन (आरआर) ले आयोजना गरेको ‘लोकतान्त्रिक व्यवस्थामा विद्यार्थी आन्दोलनको भूमिका र स्ववियुको अपरिहार्यता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. बास्कोटाले यस्तो आश्वासन दिएका हुन्।

उनले भने, ‘आज त्रिविको क्यालेण्डरअनुसार स्ववियुको निर्वाचन हुनुपर्ने दिन हो। तर, विविध कारणले निर्वाचन हुन सकेन। यसमा हामी जिम्मेवार छौं। गत माग १४ गते निर्वाचनको मिति घोषणा गरिनुपर्ने थियो। प्रमुख विद्यार्थी संगठन नेविसंघको नेतृत्व नआइ सकेको र केही अन्य कारणले त्यो हुन सकेन। आजको यो कार्यक्रममा अनेरास्वियु, नेविसंघ, अखिल छैठौंलगायत संगठनका विद्यार्थी नेताहरुले ऐक्यवद्धता जनाउनु भएको छ। उहाँहरुसँग बसेर स्ववियु निवार्चनको मिति तत्कालै तय गर्ने कुरा जानकारी गराउदछु।’

आरआर सभापति तपेन्द्रजंग शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष वक्तका रुपमा उपस्थित भएका अनेरास्ववियूका संयोजक ऐन महरले स्ववियु निर्वाचन नहुनुमा त्रिवि, अनेरास्ववियु र नेविसंघ दाेषी रहेको स्वीकार गरेका छन्।

उनले भने, ‘स्वविवियू निर्वाचन हुनु र नहुनुमा पहिलो नम्बरमा त्रिविको दोष छ। त्यसपछि ठूलो संगठन हुनुको नाताले अनेरास्ववियू र नेविसंघको दोषी छन्। म कसैको आलोचना गर्ने पक्षमा छैन। कामकुरा एकातिर, कुम्लोबोकी ठिमीतिर भनेको जस्तो हामी यहाँ स्ववियुको अपरिहार्यता र विद्यार्थी आन्दोलनका बारेमा बोलिरहेका छौं। गलतलाई गलत र सहीलाई सही भन्न सक्नुपर्छ।’

उनले अगाडि भने, ‘निर्वाचनको परिणामलाई केवल निर्वाचनसँग जोडिनु हुँदैन। त्यसरी परिणामलाई निर्वाचनसँग जोड्नु अलोकतान्त्रिक हुन्छ। स्ववियु निर्वाचन त्रिविले गर्ने हो। रेक्टरले होइन। लोकतन्त्रलाई थप बलियो बनाउन र विद्यार्थीको हित, संरक्षण र शिक्षा क्षेत्रमा भएको विकृति विसंगतीको अन्त्यका लागि स्ववियु आवश्यक छ। यसको निर्वाचन चैत मसान्तभित्र गरिनुपर्छ। यो सम्भव छ। त्रिविले इच्छाशक्ति देखाउनुपर्छ।’

त्यस्तै नेपाल विद्यार्थी संघका सभापति राजिव ढुङ्गानाले नेकपा विप्लव निकट अखिल क्रान्तिकारीलाई समेत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सहभागि उनले फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निवार्चन हुने दिनमा स्ववियुका बारेमा भाषण गर्नुपर्दा आफूहरुलाई असहज महसुस भएको बताए।

उनले भने, ‘नेविसंघको नयाँ नेतृत्व माघ १६ गते आएको हो। त्यसभन्दा पछि त्रिविले आधिकारिक रुपमा स्ववियुका बारेमा बहस गरेको छैन। हामीलाई निमन्त्रणा गरेको छैन। स्ववियु निर्वाचन तत्काल हुुनुपर्छ। एकले अर्कालाई दोष दिएर हुँदैन। सबैले आफ्नो भागमा परेको जस अपजस सबैले लिनुपर्छ। नेविसंघ मात्रै होइन, विप्लव निटक अखिललाई पनि स्ववियु निर्वाचनमा भाग लिने वातावरण र्सिजना हुनुपर्छ।’

कार्यक्रममा अखिल छैठौंका अध्यक्ष विमल पोखरेल, अनेरास्ववियूका नेता आरसी लामिछाने, अन्य विद्यार्थी संगठनका नेताहरुको उपस्थिति रहेको थियो। आरआर स्ववियु उपसभापति श्रीकृष्ण उप्रेतीले स्वागत मन्तव्य राखेका थए भने, सचिव नारायण शर्माले कार्यक्रम सञ्चालन गरेका थिए।


ताजा समाचार