अख्तियारद्वारा घुस लिएको अभियोगमा नायब सुब्बा पक्राउ

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बा नरेन्द्र चन्दलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार एक सेवाग्राहीलाई शेयर पूँजी बढाएको प्रमाणपत्र लिनका लागि लेखापढी व्यवसायीमार्फत आठ हजार घुस मागेको अभियोगमा पक्राउ गरिएको हो। लेखापढी व्यवसायी रामबाबु दाहालले कर्मचारीलाई मिलाउनुपर्छ भन्दै घुस दिन भनेका थिए।

आयोगको टङ्गालबाट गएको टोलीले घुस रकमसहित नायब सुब्बा चन्द र लेखापढी व्यवसायी दाहाललाई विभाग परिसरबाटै पक्राउ गरेको हो।

आयोगका प्रवक्ता रिसालका अनुसार आइतबार उनीहरु पक्राउ परेको भए पनि अनुसन्धान जारी रहेकाले आज सार्वजनिक गरिएको हो। आयोगले उनीहरुको थप अनुसन्धान गरिरहेको जनाएको छ।


ताजा समाचार