३७ हजार ५ सयले पाए महिला लघुवित्तको आईपीओ

काठमाडौँ। महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) ३७ हजार ५ सय लगानीकर्ताले हात पारेका छन्।

शुक्रबार बिहान भएको बाँडफाँटमा गोलाप्रथाबाट ३७ हजार ५ सय जनालाई १० कित्ताका दरले आईपीओ परेको हो। कम्पनीको शेयर १५३ जना कर्मचारीका लागि ५ हजार कित्ता सेयर बाँडफाँड भएको छ। सामुहिक लगानी कोषका लागि २० हजार कित्ता बाँडफाँट भएको कम्पनीले ननाएको छ। महिला लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

आईपीओमा आवेदन दिएकामध्ये मात्र २ प्रतिशत लगानीकर्ताले आईपीओ हात पारेका छन्। महिला लघुवित्तको आईपीओमा कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएका थिए। जसमध्ये १५ लाख ३६ हजार ६८२ जनाको आवेदन सदर भएको हो।

३ हजार ३५३ आवेदकको आवेदन भने रद्द भएको कम्पनीले जनाएको छ। आईपीओमा कुल २ करोड ३७ लाख ४७ हजार ५९० कित्ता शेयरको माग भएको थियो। जसमध्ये ५४ हजार ९६० कित्ता दोहोरो आवेदनका कारण रद्द गरिएको हो। लघुवित्तले प्रतिशेयर मूल्य १०० रुपैयाँ अंकित दरका ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।

आईपीओ बाँडफाँट भएपनि नतिजा हेर्न भने समस्या भएको छ । यसअघि आईपीओको नतिजा विभिन्न संचारमाध्यमबाट सार्वजनिक हुने गरेको थियो ।

तर, धितोपत्र बोर्डको निर्देशनमा सीडीएससीले संचारमाध्यममा नतिजा सार्वजनिक गर्न रोक लगाएपछि नतिजा हेर्न समस्या आएको छ । मेरो शेयरको वेवसाइट र एप्स, निष्कशनकर्ता कम्पनी र शेयर निष्काशन तथा बिक्री प्रबन्धकको वेवसाइटबाट मात्र हेर्न मिल्छ ।

उच्च ट्राफिकका कारण यी तीन वटै साइट चल्न सकेका छैनन् । क्षमता सुधार नगरी सञ्चारमाध्यममा नतिजा सार्वजनिक गर्न रोक लगाएको भन्दै लगानीकर्ता आक्रोशित बनेका छन् ।


ताजा समाचार