भारतद्वारा स्वास्थ्य चौकी निर्माणका लागि ५३ करोड

काठमाडौँ। भारत सरकारले नेपालमा २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि ५३ करोड रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ।​

धादिङ जिल्लामा १२ वटा र सिन्धुपाल्चोक जिल्लामा १३ वटा गरी कूल २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माणका सो सहयोग दिने भनि सम्झौतापत्रमा हस्ताक्षर भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।

२०७२ सालको भूकम्पले क्षति पुर्याइएका यी स्वास्थ्य चौकी ५३ करोड रुपियाँको लागतमा पुनर्निर्माण हुन लागेको हो। सो पुनर्निर्माणका लागि ठेकेदारसँग पनि सम्झौतापत्रमा हस्ताक्षर भएको छ। यी स्वास्थ्य चौकीको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ। सीबीआरआई भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा काम गर्दै आएको छ।

नेपालका थप १० जिल्लाका स्वास्थ्य क्षेत्रमा पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ। सोही प्रतिबद्धता अनुरुप १४७ वटा स्वास्थ्य परियोजनामध्ये यी २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत हुन लागेको हो।

स्वास्थ्य क्षेत्रमा पूर्वाधार संरचना सुदृढीकरण गर्नका लागि भारत सरकारले नेपाल सरकारसँग मिलेर काम गरिरहेको छ। सन् २००३ देखि हालसम्म भारत सरकारद्वारा आर्थिक सहयोग पुर्याइएका साना विकास परियोजना योजना अन्तर्गतका ४० वटा भन्दा बढी स्वास्थ्य शिविर/स्वास्थ्य चौकी निर्माण सम्पन्न भइसकेको दुतावासले जनाएका छ।

तस्बिर: मुकुन्द कालिकोटे


ताजा समाचार