कतारमा न्यूनतम पारिश्रमिक लागू

काठमाडौँ। कतारले आप्रवासी अदक्ष श्रमिकका लागि तोकेको न्यूनतम तलब शनिबारदेखि लागू भएको छ। कतारले रोजगारदाता कम्पनीलाई तयारी गर्न ६ महिनाअघि नै राजपत्रमा सूचना प्रकाशित भएपछि प्रक्रिया सुरु भएको थियो।

प्रशासनिक विकास श्रम तथा समाजिक मन्त्रालयले खाना र बस्नेबाहेक श्रमिकको न्यूनतम तलब एक हजार रियाल ‘झण्डै ३० हजार रुपैयाँ’ तोकेको थियो। यो घरेलु कामदारको हकमा समेत लागू हुने। मन्त्रालयका अनुसार सबै कम्पनीले अनिवार्यरुपमा न्यूनतम तलब सुविधालाई कार्यान्वयनमा ल्याउनुपर्नेछ।

खाडीका ६ देशमध्ये कतारले मात्रै न्यूनतम तलब तोकी कार्यान्वयनमा ल्याएको हो। यो तलब कतारमा कार्यरत र नयाँ भिसा लिइ जाने सबैको हकमा लागू हुनेछ। कतारस्थित नेपाली दूतावासले सबै श्रमिकको कतार सरकारद्वारा तय गरिएको न्यूनतम तलब पूर्णरुपमा पाउने विश्वास गरेको जनाएको छ।

यो तलब कार्यान्वयनमा आएपछि कतार सबैभन्दा बढी न्यूनतम तलब दिने रोजगारदाता मुलुक बनेको छ। तोकिएको तलब नपाएका कामदारले उजुरी दिनका लागि कतारले संयन्त्र पनि बनाएको छ। कामदारहरूले सीधै प्रशासनिक विकास श्रम र सामाजिक मामिला मन्त्रालयमा उजुरी दर्ता गराउन सक्नेछन्। आजको कान्तिपुर दैनिकमा समाचार छ।


ताजा समाचार