सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि निलम्बित

काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि कारबाहीको घोषणा गरेका छन्।

पार्टी हित विपरितको गतिविधि गरेको भन्दै यसअघि स्पष्टीकरण सोधिएका पाण्डे र भुसाललाई ओलीले बिहीबार ६ महिना निलम्बनको घोषणा गरेका हुन्। ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावललाई पनि ६ महिना निलम्बन गरेका थिए।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीका प्रेस सल्लाहकार सूर्य थापाले उनीहरुको जवाफ चित्त बुझ्ने नभएकाले अध्यक्षले निलम्बनको निर्णय गरेको जानकारी दिए।

चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय समिति बैठकले नेपालसहित रावल, पाण्डे र भुसालले पार्टी हित विपरितको गतिविधि गरेको ठहर गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

सोअनुसार चैत ८ गते महासचिव ईश्वर पोखरेलले चारै जनालाई स्पष्टीकरण सोधेकोमा नेपाल र रावलले चैत १२ मा उल्टै ओलीलाई प्रश्नको वर्षा गर्दै स्पष्टीकरण बुझाएका थिए भने पाण्डे र भुसालले चाहिँ मंगलबारमात्रै स्पष्टीकरण बुझाएका थिए।


ताजा समाचार