नेपाल र भारतको डढेलोले संसारका वैज्ञानिक चिन्तित

काठमाडौँ। वैज्ञानिकका अनुसार नेपाल र उत्तर भारतका केही इलाकामा लागेको डढेलो पछिल्लो १५ वर्षको सबैभन्दा भीषण हो।

युरोपेली संघको कपरनिकस एटमोस्फेरिक मनिटरिङ सर्भिस (सीएएमएस)का अनुसार पछिल्लो एक महिनामा उत्तराखण्डको जंगलमा लागेको डढेलोका कारण ०.२ मेगा टन कार्बन उत्सर्जन भएको छ। यो सन् २००३ पछिको सबैभन्दा धेरै हो।

एजेन्सीले सेटलाइटबाट खिचिएको तस्बिर विश्लेषण गरेर यतिबेला नेपालमा १८ मेगा टन कार्बन उत्सर्जन भएको जानकारी दिएको छ। यो सन् २०१६ पछिको सबैभन्दा धेरै हो। त्यस वर्ष २७ मेगा टन कार्बन उत्सर्जन भएको थियो।

सीएएमएसका शीर्ष वैज्ञानिक मार्क पेरिङ्टन भन्छन्, ‘यसले यो बताउँछ कि यो क्षेत्रमा आगो कस्तो तीब्रतामा फैलिरहेको छ। यो चिन्ताको कुरा हो ।’नेपाल र उत्तरखण्डको डढेलाका कारण हालसम्म २० जनाको मृत्यु भएको सूचना छ । लाखौं हेक्टर जङ्गल जलेर खसानी भइसकेको बताइन्छ। यद्यपि, आधिकारिक आँकडा जारी भएको छैन।

नेपालमा अघिल्लो महिना एकैपटक पाँच सयभन्दा बढी जङ्गलमा आगलागी भएको थियो । पछिल्ला केही दिनदेखि नेपालको हावाको स्तर खतरनाक भएको छ। नेपालका थुप्रै राष्ट्रिय उद्यान र जंगल भारतका उद्यान र जङ्गलसँग जोडिन्छ जसको अर्थ यो हो कि नेपालबाट भारत र भारतबाट नेपालमा आगो फैलन सक्छ।

पछिल्ला केही महिनादेखि नेपाल र उत्तर भारतका थुप्रै इलाकामा वर्षा भएको छैन। जसका कारण जङ्गल सुख्खा भएका छन्। भारतको नैनीताल क्षेत्रमा जङ्गलको इतिहासका विशेषज्ञ प्राध्यापक शेखर पाठक भन्छन्, ‘थुप्रै महिनादेखि न त वर्षा भएको छ न नै हिउँ परेको छ। यसैकारण हत्तपत्त नसल्कने रुख पनि बल्न थालेका छन् किनभने जमिन पूर्ण रुपमा सुख्खा छ।’

चिन्ताको कुरा यो हो कि साधारणतया भीषण डढेलो मे महिनामा लाग्छ। अझै यो समय आउन बाँकी नै छ। यस्तोमा जङ्गलको डढेलोले थप भयावह रुप लिने हो कि भन्ने चिन्ता छ। वैज्ञानिकका अनुसार यी क्षेत्रमा डढेलो लाग्नुमा जलवायु परिवर्तनको प्रत्यक्ष असर परेको त छैन तर यसैकारण यहाँका क्षेत्र सुख्खा भएका छन्।

यस्तै नेपाल र भारतका अधिकारीका अनुसार थुप्रै स्थानमा जङ्गल नजिकैका खेतमा सुख्खा बोटबिरुवा बालिएका कारण पनि जङ्गलमा डढेलो सल्किएको छ। तर, विशेषज्ञका अनुसार यो समस्या मौसम र सुख्खा बोटबिरुवामा आगो लगाइनु मात्रै सिमित छैन।

अक्फ्यामसँग सम्बन्धित तथा भारतको छत्तीसगढमा काम गर्ने प्राकृतिक संसाधन प्रबन्धन विशेषज्ञ विजेन्द्र अजनबी भन्छन्, ‘सरकारका नीति निर्मातालाई लाग्छ कि जङ्गलको काम कार्बनलाई अक्सिजनमा बदल्नु हो तर उहाँहरुले यो बिर्सनुहुन्छ कि जङ्गलमा डढेलो पनि लाग्छ र यस कारण पनि कार्बन उत्सर्जन हुन्छ ।’ ‘भारतमा डढेलो अहिले नै कुनै प्राथमिक मुद्दा होइन र यसै कारण साधारणतया यो विषयमा संसदमा पनि चर्चा हुँदैन ।’

डढेलो प्राकृति विपत्ति होइन

भारतको राष्ट्रिय प्रकोप प्रबन्धन प्राधिकरण (एनडीएमए) ले डढेलोलाई प्राकृतिक खतरा मानेको छैन। एनडीएमएले आफ्नो वेबसाइटमा चक्रवात, सूनामी, हिटवेब, पहिलो, बाढी र भूकम्पलाई मात्रै यो श्रेणीमा राखिएको छ। सन् २०१९ मा फरेस्ट सर्वे अफ इन्डियाको विश्लेषणबाट देशमा ३६ प्रतिशत जङ्गलमा डढेलोको खतरा भएको र यीमध्ये एक तिहाईमा यो खतरा असाध्यै बढी छ।

एनडीएमएका एक सदस्य कृष्ण वत्स भन्छन्, ‘हामीले भारतमा जङ्गलको आगोलाई प्राकृतिक खतराका सूचीमा राखेका छैनौं किनभने भारतमा धेरैजसो डढेलो कृषिसँग सम्बन्धित कारणले जानीजानी लगाइन्छ । यस्तोमा यो एक मानवनिर्मित खतरा हो।’ उनी भन्छन्, ‘तर हामी स्वीकार गर्छौं कि डढेलो एक गम्भीर खतरा बन्दै गइरहेको छ। यसैकारण हामी सबै प्रान्तका वन विभाग र अन्य एजेन्सीसँग मिलेर योसँग जुध्न काम गरिरहेका छौं।’

दमकलको कमी

स्ट्यान्डिङ फायर एडभाइजरी कमिटीको रिपोर्टको आधारमा एनडीएमएले पहिले नै भारतमा दमकल सेवाको गम्भीर कमीबारे उजागर गरिरहेको छ। समितिले आफ्नो अनुसन्धानमा देशमा दमकल दलमा समावशे ८० प्रतिशत वाहनमा कमजोरी छ जबकी देशमा आवश्यकताको हिसाबमा दमकलकर्मीको संख्या ९६ प्रतिशत कम छ।

भारतका दमकम सेवा महानिर्देशालयका वरिष्ठ अधिकारी तथा सल्लाहकार डीके धामी भन्छन्, ‘त्यो रिपोर्टपछि हामीले असाध्यै सुधार गरेका छौं तर हामीलाई यो पनि थाहा छ कि अझै धेरै कुरा गर्न बाँकी छ।’ त्यतिबेला हामीसँग करिब ५५ हजार दमकलकर्मी थिए। अब हामीसँग ७५ हजारभन्दा बढी कर्मचारी छन् ।’

पहिलेको तुलनामा यसका लागि बजेटमा पनि बढोत्तरी भएको छ। अब सरकारले यो वर्षदेखि २०२६ सम्मका लागि राज्यका लागि करिब ५० अर्ब भारुको प्रावधान गरेको छ। यो पहिलो प्रावधानको तुलनामा पाँच गुणा बढी हो। तर, विशेषज्ञका अनुसार यसले जमिनी स्तरमा डढेलोसँग लड्नमा कुनै विशेष मद्दत पुगेको छैन ।

कुमाउ जिल्लाका पर्यावरण कार्यकर्ता अनिरुद्ध जडेजा भन्छन्, ‘डढेलोका कारण असाध्यै गम्भीर हुँदै गइरहेको छ तर प्रशासनको कुनै तयारी देखिएको छैन।’ हाम्रा जङ्गल निकै ठूला छन् र वन विभागका कर्मचारीको संख्या निकै कम छ । जहिले कुनै ठूलो डढेलो लाग्छ, उनीहरुले खासै केही गर्न पाउँदैनन् ।’

नेपालका पनि वन विशेषज्ञका यस्तै भन्छन्। नेपाल फेडरेशन अफ कम्युनिटी फरेस्ट्री युजर्सको अध्यक्ष भारती पाठक भन्छिन्, ‘हामी सुन्छौं कि नेपालको वातावरणको नाममा विदेशबाट करोडौं डलरको मद्दत मिल्छ तर जंगलको आगो निभाउनका लागि त्यसबाट केही पनि खर्च गरिँदैन ।’

‘हाम्रो कम्युनिटी फरेस्ट्रीको कामलाई संसारभरीबाट तारिफ मिलिरहेको छ तर अब जङ्गलमा लागेको डढेलोले बालुवामा पानी खन्याए झैं हुन्छ।’ नेपालका वन मन्त्रालयका प्रवक्ता प्रकाश लम्साल भन्छन्, ‘हामी हाम्रो सिमित संसाधनले जे जति हुन सक्छ त्यो गरिरहेका छौं तर आगो यस्तो इलाकामा लागेको छ जहाँ पुग्न मुश्किल भइरहेको छ । पहाड, मानिसहरुले जानीजानी आगो लगाउनु र सुख्खा मौसमका कारण समस्या आइरहेको छ।’ हामी सबैले देखिसकेका छौं कि विकसित देशमा पनि डढेलो निभाउन कति समस्या आउने गर्छ।’ -बीबीसी


ताजा समाचार