सरकारलाई बहिर्गमित सेनाको धन्यवाद

काठमाडौँ। बहिर्गमित जनमुक्ति सेना नेपालले सरकारले अयोग्य बिल्ला हटाएर ‘लोकतन्त्रका योद्धा’ सम्मान गरेको भन्दै धन्यवाद दिएको छ।

शुक्रबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेर सरकारले आफ्नो भूमिकालाई सम्मान गरेको नेताहरुले आफूहरु कुनै पार्टीमा प्रवेश नगरेको समेत बताएका छन्। एमालेमा प्रवेश गरेका कारण सम्मान गरेको भन्ने हल्ला सत्य नभएकोसमेत पत्रकार सम्मेनमा स्पष्ट पारिएको छ।

संगठनका इन्चार्ज अशिल आङबुहाङ्ग लिम्बु ‘सुनिल’ले आफूहरुले उठाउँदै आएका ९ वटा मागमध्ये पहिलो माग सरकारले सम्बोधन गरेको बताए। उनले आफूहरुलाई अयोग्यको बिल्ला भिराएर शिविरबाट धपाइएको पीडा भुल्ने वातावरण सरकारले बनाएको भन्दै सरकारलाई धन्यवाद दिए।

इन्चार्ज सुनिलले आफूहरुले जनयुद्धका सर्वोच्च कमाण्डरबाटै सम्मानपत्र लिने इच्छा भएपनि दुईपटक सरकारको नेतृत्व गर्दासमेत बेवास्ता गरेको सम्झिँदै भने, ‘जनमुक्ति सेनाका सर्वोच्च कमाण्डर प्रचण्डकै हातबाट सम्मानपत्र लिने चाहना थियो, तर त्यो पूरा भएन। उहाँ दुई पटक र जनयुद्धका अर्का नेता बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा समेत हाम्रा मागको कुनै सुनुवाई गर्नुभएन।’

उनले अगाडि भनेका छन्, ‘हामीलाई अपमानित गरेर शिविरबाट धपाइएको पीडा सम्झिँदै आन्दोलनमा थियौँ। अहिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हामीलाई सम्मान गरेको छ। यसको लागि धन्यवाद। यसमा जनयुद्धका अर्का नेता तथा गृहमन्त्री बादलको पनि महत्वपूर्ण भूमिका छ। उहाँलाई पनि विशेष धन्यवाद।’ उनले प्रचण्ड–बाबुरामले जनमुक्ति सेना बिसर्जन र आफूहरुलगायत सहिद, बेपत्ता परिवार र घाइतेहरुलाई अपमान गरेको दाबी गरे।


ताजा समाचार