महन्तले हस्ताक्षर गराउनुका चार कारण

काठमाडौं। जनता समाजवादी पार्टीभित्र पूर्वराजपा र पूर्वसमाजवादी पक्षबीच शक्ति संघर्ष चर्किरहेका बेला अध्यक्ष महन्थ ठाकुरले आफ्नो पक्षमा रहेका केन्द्रीय कार्यकारिणी समिति सदस्य र सांसदको हस्ताक्षर संकलन गरेका छन्।

उनले सोमबार पूर्वराजपाको बबरमहलस्थित कार्यालयमा बोलाएर खाली कागजमा हस्ताक्षर गर्न लगाएको केन्द्रीय कार्यकारिणी समितिका एक सदस्यले बताए । उनका अनुसार हस्ताक्षरको प्रयोजन ठाकुरले खुलाएका छैनन् ।

ठाकुरले आइतबार राजधानीबाहिर रहेका पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य र सांसदलाई टेलिफोन गरेर सोमबारसम्म राजधानी आइपुग्न भनेका थिए । तत्कालीन राजपा अध्यक्षमण्डलका सदस्यसमेत रहेका नेता महेन्द्र राय यादवसहित तीन केन्द्रीय कार्यकारिणी सदस्यले अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई साथ दिएपछि ठाकुर पक्ष पार्टीभित्र अल्पमतमा परेको छ । ‘केन्द्रीय कार्यकारिणी समितिका दुई दर्जन सदस्यले सोमबार हस्ताक्षर गरिसकेका छन् । बाँकीलाई मंगलबार बोलाएर हस्ताक्षर गराउने योजना छ ।

५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा पूर्वराजपाका २६ र पूर्वसमाजवादीका २५ सदस्य छन् । लुम्बिनी प्रदेशका चार सांसदलाई कारबाही गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सम्बन्धमा भएका निर्णयमा अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहित २६ जनाको हस्ताक्षर थियो ।

घरघरमा हस्ताक्षर गराएर बस्दै नबसेको केन्द्रीय कार्यकारिणी समितिको बैठक भनी गरिएको निर्णय फर्जी भएको आरोप ठाकुर पक्षको छ । ठाकुरले पनि त्यस्तै कदम अघि बढाउन खोजेको भन्दै पूर्वराजपाका केही नेताले असन्तुष्टि जनाएका छन् ।

ठाकुरले हस्ताक्षर गराउनुका पछि चारवटा विषयलाई जोडेर हेर्ने गरिएको छ । उनको पहिलो प्राथमिकता केन्द्रीय कार्यकारिणी समितिमा गुमेको बहुमत फर्काउनेछ । अर्का अध्यक्ष यादवलाई साथ दिएका पूर्वराजपाका तीनै जना सदस्यलाई आफ्नो पक्षमा तान्ने कोसिस उनको छ । बहुमत पुर्‍याएर लुम्बिनी प्रदेशमा चार प्रदेश सांसदमाथि गरिएको कारबाही फुकुवा गराउने योजना पनि उनले बनाएका छन् । दोस्रो, ठाकुर पार्टीको संसदीय दलको नेता बन्न इच्छुक देखिन्छन् । कुनै पनि बेला संसदीय दलका नेता हुन उनले बहुमत जुटाउन कोसिस गरेका हुन् । आफू निकटहरूसँगको कुराकानीमा संसदीय दलमा बहुमत सांसदले आफूलाई साथ दिने विश्वास उनले व्यक्त गर्न गरेका छन् ।

दलमा महेन्द्र राय यादवले उपेन्द्र पक्षलाई साथ दिएपछि पूर्वराजपाबाट १५ जना सांसद मात्रै छन् । पूर्वसमाजवादीमा भने १७ जना सांसद पुगेका छन् । दुवैतर्फ एक एक जना निलम्बनमा छन् । अहिलेसम्म पूर्वसमाजवादी सांसद कसैले पनि ठाकुरको पक्ष लिइसकेका छैनन् । तर, ठाकुर पक्षले ४ देखि ६ जनासम्म पूर्वसमाजवादी सांसद आफ्नो पक्षमा आउने दाबी गरेको छ ।

तेस्रो, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा राखेको विश्वासको प्रस्तावमा समर्थन दिने प्रयोजनका लागि उनले हस्ताक्षर गराएका हुन् । ठाकुर पक्षले ओली नेतृत्वकै सरकारलाई साथ दिन चाहेको छ । पार्टी र संसदीय दलमा बहुमत पुर्‍याएर ओलीलाई साथ र समर्थन दिने गरी निर्णय गराउन चाहेको बुझाइसमेत कतिपयको छ । चौथो, पार्टीमा बहुमत पुगेन भने राजपालाई ब्युँताउने योजनामा ठाकुरसहितका नेता छन् । त्यसका लागि पार्टी केन्द्रीय कार्यकारिणी समिति र संसदीय दलमा ४० प्रतिशतको संख्या आवश्यक पर्छ ।

पूर्वराजपाको पार्टी र संसदीय दल दुवैतिर ४० प्रतिशतभन्दा बढी हिस्सा छ । ‘उपेन्द्रसँग मिल्ने अवस्था बनेन र बहुमत पनि पुगेन भने पार्टी विभाजन गराएर ओली नेतृत्वकै सरकारमा जाने सम्भावनासमेत देखिन्छ,’ ठाकुरनिकट स्रोतले भन्यो, ‘मर्ता त क्या कर्ता भन्ने स्थितिमा पुग्ने अवस्था बन्दै गएको छ ।’ यो समाचार कान्तिपुर दैनिकमा छ ।


ताजा समाचार