ओली-नेपालबीचको वार्ता निष्कर्षविहिन

काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल निष्कर्षविहीन भएको छ।

मेरियट होटेलमा ओली र नेपालबीच दुई घण्टा भएको छलफलमा कुनै सहमति जुट्न नसकेको एक नेताले बताएका छन्। अध्यक्ष ओली पावर सेयरिङमा सहमत नभएपछि वार्ता निष्कर्षविहीन​ बनेको ति नेताको भनाइ छ।

होटल मेरियटमा ओली र नेता नेपाललाई पार्टी विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरूले कार्यदल तहमा भएका सहमति र हुनसक्ने प्रगतिबारे ब्रिफिङ गरेका थिए।

ओली र नेपाललाई कार्यदलका नेताहरू नेपाल पक्षका कार्यदल संयोजक भीम रावल, सदस्य सुरेन्द्र पाण्डे तथा ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङ छलफलमा सहभागी भएका थिए।

बैठकस्थलबाट बाहिरिने क्रममा बरिष्ठ नेता नेपालले पत्रकारलाई केही पनि प्रतिक्रिया दिन मानेनन्। नेता नेपालभन्दा केही ढिलो गरी राति ९ बजेर ५२ मिनेटमा होटलबाट बाहिरिएका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मिडियालाई कुनै प्रतिक्रिया दिएनन्।

कार्यदलका सदस्य भीम रावलले पत्रकारहरुसँग भने, ‘कार्यदलका तर्फबाट कुराकानी गरिरहेको यहाँहरुलाई थाहा छँदैछ, शीर्ष नेताहरुवीच कुराकानी भयो। सकारात्मक दिशामा कसरी लैजाने भन्नेमा कुराकानी भइरहेको छ। फेरि कुराकानी हुनेछ। कुराकानीलाई गहिराइमा लानुपर्ने महसुस भएको छ। फेरि पनि कुराकानी गर्ने छौं। जति पनि वार्ता भइरहेको छ, समस्या समाधानका लागि भइरहेको छ।’

कार्यदलका अर्का सदस्य सुरेन्द्र पाण्डेले ओली र नेपालवीच एक्लाएक्लै कुराकानी भएको र त्यो सकारात्मक भएको बताए। अब विहीबार पुनः कार्यदलको बैठक बस्ने नेता पाण्डेले बताए।


ताजा समाचार