बृहत् नागरिक आन्दोलनका अभियन्ताहरू पक्राउ

काठमाडौं। सिंहदरबारबाट बृहत् नागरिक आन्दोलनका अभियन्ताहरू पक्राउ परेका छन्।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चारै पदाधिकारीलाई पदमुक्त गरी नयाँ पदाधिकारी चयन गर्नुपर्ने माग गर्दै सिंहदरबारको दक्षिणीगेटमा प्रदर्शनमा उत्रिएका अभियन्ता नारायण वाग्लेसहित १७ जना पक्राउ परेका हुन्।

प्रतिष्ठानमा दलीय भागबण्डा नभई वस्तुगत मापदण्डका आधारमा पदाधिकारी नियुक्त गरिनुपर्ने उनीहरुको माग छ। पदाधिकारीले गरेको भ्रष्टाचारबारे बारम्बार समाचार आउँदा पनि कुनै छानबिन नगरी सम्बन्धित निकाय बेखबर रहेको उनीहरुको आरोप छ।

आइतबार बिहान ११ बजे सिंहदरबार मार्चमा गएका अभियन्ताहरूलाई नियन्त्रणमा गरिएको महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रहरी नायब उपरीक्षक हरि बस्नेतले जानकारी दिए।

उनका अनुसार अहिलेसम्म नारायण वाग्ले, खगेन्द्र संग्रौला लगायत १७ जना अभियन्ता प्रहरी नियन्त्रणमा छन्। उनीहरूहरूले निषेधित क्षेत्र तोडेपछि नियन्त्रणमा लिएको प्रनाउ बस्नेतले बताए। अभियन्ताहरूलाई प्रहरीले नगर प्रहरी कार्यालयमा राखिएको छ।


ताजा समाचार