वैज्ञानिक समाजवादबारे जनमत संग्रह नगरि सुखै छैनः विप्लव

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संसदीय व्यवस्थाको औचित्य समाप्त भइसकेको दाबी गरेका छन्।

बुधबार पार्टीको अंग्रेजी मुखपत्र रेडफ्रन्ट विमोचन गर्दै उनले अहिले पञ्चायतकालमा भन्दा अचाक्ली विकृति देखिन थालेको बताए। वैज्ञानिक समाजवादको विषयमा जनमत संग्रह गगरि सुखै नभएको बताउँदै विप्लवले भने, ‘अहिले पार्टी एकता गर्न विदेशी चाहिन्छ, फुटाउन विदेशी चाहिन्छ, उपचार गर्न विदेश चाहिन्छ, पञ्चायतमा पनि यति साह्रो विकृति थिएन। दलालीकरणको भद्दारुप अहिले देखिइरहेको छ।’

उनले अगाडि भने, ‘हरेक कुराको आफैं निर्णय गर्ने अवस्थाको सिर्जना गर्न वैज्ञानिक समाजवादको बाटोमा जानुपर्ने हुन्छ। वैज्ञानिक समाजवादको विषयमा जनमत संग्रहमा नगई सुखै छैन। कतिपयले जनमत संग्रहमा जान अहिलेका दलले दिन्छन् ? भनेर प्रश्न पनि गर्ने गरेको पाइन्छ। यो दिइन्न भने खोसेर पनि लिने कुरा हो। २०३६ सालमा जनमत संग्रह गर्न हुन्छ भने आज किन मिल्दैन?’

‘सत्ता पाउन देशै बेच्न खोज्ने, राज्य र राष्ट्रलाई सुविधाका लागि लेनदेन गर्ने विषय कसरी आइरहेको छ?’ विप्लवले प्रश्न गर्दै भने, ‘यहाँका जमिन दलालको हातमा छ, घडेरी किन्न जिन्दगीभर हड्डी खियाउँदा पनि सकिन्न, चरम माफियाकरण छ।’

अहिलेको व्यवस्थामा कम्युनिष्टले पूँजीवादीको सेवा गरिरहेको भन्दै उनले यो लज्जास्पद भएको बताए। उनले नेपाली कांग्रेसलाई पनि प्रश्न गरेका छन्, ‘तपाईंले भनेको लोकतान्त्रिक समाजवाद र संसदीय व्यवस्था एउटै हो? नभए त्यस विषयमा किन बोल्नु हुन्न?’

तस्बिर: मुकुन्द कालिकोटे


ताजा समाचार