‘ओली सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गरे आगो बाल्छौं’

काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय युवा नेता महेश बस्नेतले एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिएका छन्।

शनिबार युथ फोर्सको भ्याली कमान्ड गठन गर्दै नेता बस्नेतले ओली सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फुटाउन अध्यादेश ल्याउने षड्यन्त्र भइरहेको बताउँदै उक्त चेतावनी दिएका हुन्।

नेता बस्नेतले पूरक बजेट ल्याउने, नीति तथा कार्यक्रम ल्याउने, मन्त्रिपरिषदको संख्या बढाउन संविधान संशोधन गर्ने कुरा आइरहेको भन्दै त्यसो गरेमा युथ फोर्सले तह लगाउने जिकिर गरेका छन्। उनले मन्त्री बन्ने, फ्लाटदेखि घडेरी पाउने लोभमा एमालेका २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई साथ दिएको आरोप लगाए।

एमालेले सरकारलाई समर्थन नगर्ने र एमाले छाडे सांसद पद जाने भएकाले २२ जनाको मन्त्री बन्ने सपना पुरा नहुने बताए। साउन ३ गते प्रधानमन्त्री देउवाले संसदमा विश्वासको मत लिँदा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले मत दिएका थिए।

तस्बिर: मुकुन्द कालिकोटे


ताजा समाचार