जयसिं धामी प्रकरण: एसएसबीको संलग्नता नभएको भारतको जवाफ

काठमाडौँ। दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटबाट ३३ वर्षीय जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएको घटनामा भारतले आफ्ना सुरक्षाकर्मीको संलग्नता अस्वीकार गरेको छ।

शनिवार दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले एसएसबीको संलग्नता अस्वीकार गरेका हुन्।

मालघाटबाट तुइनमार्फत भारत तर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउँदै गर्दा एसएसबीका जवानले तुइनको डोरी काटेपछि धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए।

तर, आनन्द स्वरुपले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई लेखिएको पत्रमा भनिएको छ– ‘एसएसबीले तुइन काट्दा मान्छे खसेको भन्ने हल्ला एकदमै गलत छ।’

दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले भारत पक्षले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको पुष्टि गरिन्। जोशीले भनिन्, ‘जवाफ आएको छ, पिथौरागढका जिल्ला अधिकारीले हिजोको घटना सम्बन्धमा एसएसबीको टोली घटनास्थल पुग्नुभन्दा अघि नै दुर्घटना भएको जानकारी गराउनुभएको छ।’

भारतले यसअघि पनि अनधिकृत तुइन हटाउँदै आएको जानकारी गराउँदै शुक्रवार करिब ३० मिटर तलबाट मानिस कराएको आवाज सुनेपछि पट्रोलिङमा जाँदा मानिस नदीमा खसेको थाहा पाएको दाबी गरेको छ। भारत पक्षले पनि नदीमा बेपत्ता युवा खोज्न टिम गठन गरेको नेपाल पक्षलाई जानकारी गराएको छ।


ताजा समाचार