लुकाकुलाई क्लबमा फर्काउने चेल्सीको तयारी

काठमाडौँ। प्रिमियर लिग क्लब चेल्सीले पूर्व खेलाडी रोमेलु लुकाकुलाई क्लबमा भित्र्याउने तयारी गरेको छ। यसका लागि क्लबले इटालियन क्लब इन्टर मिलानलाई ‘राम्रै’ अफर दिने तयारी गरेको छ

गोल डटकमका अनुसार लुकाकुलाई भित्र्याउन दिइने ‘अफर’ मा चेल्सीले मार्कोस अलोन्सोलाई पनि इन्टरलाई दिने प्रस्ताव राख्ने बुझिएको छ। इन्टर मिलानको आर्थिक समस्याका कारण ठूलो अफर प्रस्तुत गरे क्लबले बेल्जियन खेलाडीलाई बेच्न तयार हुने अपेक्षा चेल्सीको छ।

यता, गत हप्ता इटालियन च्याम्पियनसँग प्रशिक्षणमा फर्किएका लुकाकुले आफू नयाँ सिजनको प्रतीक्षामा रहेको बताउँदै क्लबमा नै रहन चाहेको सङ्केत गरेका थिए। त्यस्तै, इन्टरका प्रमुख कार्यकारी अधिकृत गुइसेपे मारोटाले पनि लुकाकुलाई तत्कालै नबेच्ने स्पष्ट पारेका छन्। ‘लुकाकु बिक्रीमा छैनन्,’ उनको भनाइ थियो।

चेल्सी भने नयाँ सिजनका लागि स्ट्राइकरको खोजीमा रहेको छ। क्लबले भेटरान स्ट्राइकर ओलिभए जिरुलाई बेचिसकेको छ भने लुकाकुसँगै अर्लिङ हलान्ड र ह्यारी केनलाई पनि सम्भावित सूचीमा राखेको छ।

२८ वर्षीय लुकाकुले गत सिजन सिरिए ए उपाधि जित्ने क्रममा २४ गोल गर्नुका साथै ११ वटा गोलको अवसर सिर्जना गर्न सफल भएका थिए । लुकाकु सन २०११ मा चेल्सीसँग आबद्ध भए पनि शुरुवाती ११ मा पर्न सकेनन्। एक वर्षपछि नै उनी वेस्ट ब्रोम पुगेका थिए।


ताजा समाचार