जर्सी नम्बर ३० बाट मेसीको नयाँ यात्रा सुरू

काठमाडौँ। अर्जेन्टिनी खेलाडी लियोनल मेसीले पेरिस सेन्ट जर्मेन पीएसजी बाट ३० नम्बर जर्सी लगाएर खेल्ने भएका छन्। करिब २ दशक बार्सिलोनामा बिताएका मेसीले गत साता क्याटलान क्लब छोड्ने घोषणा गरेका थिए।

बार्सिलोना छाड्ने घोषणामा आइतबार निकै भावुक देखिएका मेसीले मंगलबार पिएसजीसँग औपचारिक रूपमा २ वर्षका लागि सम्झौता गरे। मेसीलाई पेरिसमा हजारौं समर्थकले स्वागत गरेका थिए।

मेसीले पिएसजीबाट ३० नम्बर जर्सी लगाएर खेल्नेछन्। यसअघि उनलाई नेयमारले आफूले प्रयोग गर्दै आएको १० नम्बरको जर्सी दिने भने पनि ‍उक्त प्रस्तावलाई मेसीले अस्वीकार गर्दै आफैंले ३० नम्बर रोजेको बताइन्छ। मेसीले बार्सिलोनाबाट ब्यवसायिक जीवन शुरू गर्दाको शुरूवाती दुई वर्ष ३० नम्बरको जर्सीनै लगाएर खेलेका थिए।

मेसीको शुरुवाती सम्झौता दुई वर्षको रहे पनि थप एक वर्ष बढाउन मिल्नेछ। पिएसजीले फ्रि एजेन्ट मेसीलाई २५ मिलियन युरो हस्ताक्षर गरेवापत र प्रति वर्ष २५ मिलियन युरोमा तलब दिने सर्तमा अनुबन्धन गरेको हो। थप एक वर्ष भएमा सोहि रकम हुने उल्लेख छ‌‌। यसबाहेक टोलीको सफलता र व्यक्तिगत प्रदर्शनअनुसार बोनस पनि रहेको छ।

क्लबसँग सम्झौता गर्दैं मेसीले पिएसजीनै आफ्नो लागि उत्तम क्लब रहेको बताएका छन्। आफू पेरिसमा रहेर करिअरको नयाँ यात्रा सुरु गर्न उत्सुक रहेको भन्दै क्लवसँग सम्झौता गरेर अघि बढ्ने बताए।

‘क्लब र मेरो लक्ष्य मेल खान्छ र मेरो लागि यो उत्तम गन्तव्य हो। म क्लबसँग अघि बढेर सफलता हासिल गर्न उत्साहित छु। फेरि यहाँका खेलाडी र स्टाफ कति मिहिनेती छन् भन्ने मलाई थाहा छ’, उनले भने।


ताजा समाचार