भदौ २५ गतेसम्म संसद वैठक स्थगित

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल एमालेले दुई पटकसम्म अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक शुक्रबार (२५ गते) सम्मका लागि स्थगित गरिएको छ।

यसबीचमा सभामुख अग्नि सापकोटाले सहमति जुटाएर प्रतिनिधिसभा बैठक सहज ढंगले सञ्चालनको प्रयास गर्नेछन्। एमालेले पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै बुधबार दुई पटकसम्म संसद अवरुद्ध पारेको हो। एमालेका प्रमुख सचेतक विशाल भट्टराइले बोलेलगत्तै एमाले सांसदहरुले उठेर नाराबाजी सुरु गरेका थिए। उनीहरुले सभामुख विरुद्ध नाराबाजी समेत गरेका थिए।

​एमाले सांसदहरु नाराबाजीमा उत्रेपछि सभामुख सापकोटाले संसदको नियम २१ को खण्ड ‘ख’ र ‘ग’ को अध्ययन गर्न ध्यानाकर्षण गराएका थिए। तर, एमाले सांसदले नाराबाजी नरोकेपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरे।

बैठक स्थगित गरेर सभामुखले संसदको गतिरोध हटाउने विषयमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीसँग छलफल गरेपछि सहमति जुटेन भने दोस्रो पटकको बैठकमा पनि अवरोध जारी रह्यो। त्यसपछि पुनः १५ मिनेटको लागि स्थगित भएको बैठक बस्दै नबसी शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गर्ने निर्णय लिइएको हो।

सभामुखलाई एमालेको प्रश्न

बैठकमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक भट्टराईले पार्टीले कारवाही गरेका सांसद बचाउन र एमाले टुक्रयाउन किन भूमिका निर्वाह गरेको भनेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रश्न गरे। उनले बैठकको ध्यानाकर्षण गराउँदै दल विभाजनको मतियार किन बनेको भन्दै सभामुख सापकोटा समक्ष प्रश्न समेत गरे।

उनले एमालेको पार्टी कमिटीका १४ जना सदस्यलाई कारवाही गरेको पत्र निर्वाचन आयोगलाई बुझाएको तर आयोगले त्यसलाई समेत बेवास्ता गरेको आरोप लगाए । तीसमेत पार्टीले कारवाही गरेका सांसदहरुको हस्ताक्षर सनाखत गरेर एमाले टुक्र्याइएको भन्दै उनले आपत्ति जनाए।

उनले भने, ‘एमालेजस्तो लोकतन्त्रका लागि ७२ वर्ष संघर्ष गरेको पार्टीलाई कसैले हेप्न खोज्छ भने एमाले चुप लागेर बस्ने छैन।’ उनले यथास्थितिमा एमालेले सदनको कारवाही अघि बढ्न नदिने पनि प्रस्ट पारे।

सभामुखविरुद्ध नाराबाजी

बुधबारको बैठक सुरु भएलगत्तै नाराबाजीमा उत्रेका एमाले सांसदहरुले ‘सभामुखको आसनमा बसेर एमाले फुटाउन पाइँदैन, सभामुख अग्नि सापकोटा मुर्दावाद, संसदको सर्वोच्चता कायम गर’ जस्ता नारा लगाएका थिए।

सभामुख सापकोटाले नियम २१ को खण्ड ‘ख’ र ‘ग’ अध्ययन गर्न ध्यानाकर्षण गराएका थिए । त्यति गर्दा पनि एमाले सांसदहरुले नाराबाजी रोकेनन्। संसदीय नियमावली अनुसार ‘सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने’ व्यवस्था छ।​

सभामुखले उल्लेख गरेको धारा र नियमावलीमा के छ?

प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफ्नो दल विभाजनको मतियार बनेको आरोप लगाउँदै सभामुखसँग जवाफ माग्दै नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरे। एमाले प्रमुख सचेतक विशाल भट्टराईले उठाएको प्रश्नको जवाफ दिँदै सभामुख अग्निप्रसाद सापकोटाले आफूले नियम अनुसारै काम गरेको र यो विषय अदालतमा समेत प्रवेश गरिसकेको भन्दै छलफल गर्न नमिल्ने बताए । त्यस क्रममा उनले संविधानको धारा १०५ र प्रतिनिधिसभा नियमावली २०७५ को २१ पनि उल्लेख गरे।

के छ संविधानको धारा १०५ मा ?

संविधानको धारा १०५ मा अदालतमा विचाराधीन कुनै पनि विषयमाथि संसदमा बहस गर्न बन्देज गरेको छ। प्रतिनिधिसभा नियमावली २१ को खण्ड ख, ग र घ मा सभामुखले पद आचरणको छलफल नगरेको भन्ने विषयमाथिको छलफल बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने, सभामुखको कुनै पनि निर्णयको आलोचना गर्न नहुने र सभामुखमाथि कुनै पनि आपत्तिजनक शब्द बोल्न नहुने उल्लेख छ।


ताजा समाचार