उत्तर कोरियाद्वारा मिसाइल प्रक्षेपण

काठमाडौँ। उत्तर कोरियाले आफ्नो पूर्वी समुद्री क्षेत्रमा छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको छ।

दक्षिण कोरियाको सेनाले दिएको जानकारीअनुसार मंगलबार बिहान उत्तर कोरियाले उक्त मिसाइल परीक्षण गरेको हो। मिसाइल प्रक्षेपण गरेको केही समयपछि संयुक्त राष्ट्रसंघको लागि उत्तर कोरियाका स्थायी प्रतिनिधि किम सोङले महासभामा सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा उनले आफूहरुलाई कसैले पनि आफ्नो सुरक्षा र हतियार परीक्षण गर्नबाट रोक्न नसक्ने बताएका थिए।

यसअघि सेप्टेम्बरको सुरुमा पनि उत्तर कोरियाले ब्यालेस्टिक र क्रुज मिसाइल परीक्षण गरेको थियो। यद्यपि त्यसको केही समयपछि उसले दक्षिण कोरियासँग वार्तामा बस्नका लागि तयार रहेको बताएको थियो। उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेपछि अमेरिकी सेनाले एक विज्ञप्ति जारी गर्दै उत्तर कोरियाले गरेको मिसाइल प्रक्षेपणको विषयमा जानकार रहेको तर अहिले गरिएको मिसाइल परीक्षणबाट अमेरिकी सेना र गठबन्धनलाई कुनै जोखिम नरहेको बताएको छ।

मंगलबार जापानी सञ्चारमाध्यमले अहिले उत्तर कोरियाले प्रक्षेपण गरेको मिसाइल ब्यालेस्टिक हुन सक्ने यस किसिमको प्रक्षेपण राष्ट्रसंघको नियमविपरीत हुने बताएका छन्। दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इनले राष्ट्रिय सुरक्षा परिषद्लाई उत्तर कोरियाले मिसाइल प्रक्षेपण गर्नुको उद्देश्य के हो भन्ने पत्ता लगाउन निर्देशन दिएका छन्।


ताजा समाचार