टोटनह्याम हटस्पर्स तीन हप्तामा तेस्रो पटक पराजित

काठमाडौँ। दोस्रो हाफमा दुई गोल गर्दै चेल्सीले टोटनह्याम हटस्पर्सलाई तीन हप्तामा तेस्रो पटक पराजित गरेको छ।

पहिलो हाफमा गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ सुरु भएको दुई मिनेटमा नै हामिक जियाचले २० यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।

आठ मिनेटपछि नै थियागो सिल्भाले मेसन माउन्टको फ्रिकिकबाट गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए। यसअघि पहिलो हाफमा ह्यारी केनले चेल्सीको पोस्टमा गोल छिराए पनि त्यसलाई रद्द गरिएको थियो। गोलअघि केनले सिल्भालाई फल हानेको देखिएको थियो।

चेल्सीले केही समयअघि मात्र काराबाओ कपको सेमिफाइनलको दुवै लेगमा स्पर्सलाई हराएको थियो। गत नोभेम्बरमा एन्टोनियो कोन्टेले नेतृत्व सम्हाले यता लिगमा स्पर्सको यो पहिलो पराजय हो।

जीतपछि २४ खेलबाट ४७ अङ्क बटुल्दै चेल्सी लिगको तेस्रो स्थानमा रहेको छ। स्पर्स भने २० खेलबाट ३६ अङ्क बटुल्दै लिगको सातौँ स्थानमा सीमित रहेको छ।


ताजा समाचार