आयोगको प्रस्ताव: कात्तिक अन्तिम वा मंसिरको पहिलो साता चुनाव

काठमाडौँ। निर्वाचन आयोगले कात्तिकको अन्तिम साता वा मंसिर पहिलो सातामा चुनाव गर्न सरकारलाई सिफारिस गर्ने तयारी गरेको छ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भने, ‘कानुनको अभ्यास अन्तर्गत आगामी मंसिर २२ गते प्रतिनिधि सभा सदस्यले निर्वाचित भएर प्रमाणपत्र पाएको दिनलाई आधार मान्दा हामीले मंसिर २२ गते अघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने हुन्छ।’

उनका अनुसार भौगोलिक जटिलता, हावापानी, मंसिरको अन्तिमदेखि हिउँ पर्ने भएकोले हिमाली क्षेत्रमा धेरैजसो मतदाता तल बेसीमा झर्दा मतदान स्थल खाली हुन्छ। कात्तिकको अन्तिम हप्ता र ढिलोमा मंसिर १० गते अर्थात मंसिर पहिलो हप्तामा चुनाव गर्नेगरी आयोगले उपयुक्त मितिसहित नेपाल सरकारसँग परामर्श गर्ने उनको भनाइ छ।

उनले सरकार र आयोगको आपसी परामर्शमा निर्वाचनको मिति तोकिने भएकाले त्यही समयको सेरोफेरोको समय राखेर चुनाव गर्नुपर्छ भनेर सरकारलाई राय पेस गर्ने जानकारी दिए। सरकारले पर्याप्त सुरक्षा दिए एकै चरणमा पनि चुनाव गर्न सकिने र सुरक्षा प्रवन्ध पर्याप्त नभएमा २ चरणमा चुनाव गर्न सकिने उनले प्रस्ट पारे।

सहायक प्रवक्ता अर्यालले भने, ‘एकै चरणमा चुनाव गर्ने कि दुई चरणमा गर्ने भन्नेमा सरकारले पर्याप्त सुरक्षा दिनसक्ने सम्भावना छ भने एकै चरणमा पनि हुन सक्छ। अहिलेको स्थानीय तह चुनावबाट पनि केही शिक्षा मिलेको छ। त्यसैले अब कात्तिकको पहिलो हप्ता र मंसिरको १० गतेभित्र दुई चरणमा निर्वाचन गर्न पनि सकिन्छ। यही आधारमा विचार विमर्श गरेर एउटा निष्कर्षमा पुगिनेछ।’

आयोगले स्थानीय तहको निर्वाचन र संघ तथा प्रदेशको निर्वाचन खर्चमा धेरै ठूलो खर्च अन्तर नआउने अनुमान गरेको छ। आगामी चुनावका लागि पनि ८ देखि साढे ८ अरबभित्र खर्च हुन सक्ने अर्यालले बताए। उनले भने, ‘अहिले मतदाता शिक्षा बढाउनुपर्‍यो भन्ने पृष्ठपोषण आएको छ। ४०÷५० करोड मतदाता शिक्षामा बजेट बढायौं भने ९ अरबसम्म जान सक्छ।’


ताजा समाचार