भारतीय तटबन्धले साँघुरिँदै महाकाली

दार्चुला। भारतले सीमा नदी महाकालीको प्राकृतिक बहाव धकेलिने गरी निर्माण गरिरहेको पक्की तटबन्धको काम नरोकेपछि स्थानीय बासिन्दा त्रसित भएका छन्।

भारतीय तटबन्धले साँघुरिएको नदीको सतह बढ्न थालेपछि उनीहरू चिन्तित छन्। सीमा नदी महाकालीमा नेपाल र भारत दुवैतर्फ पक्की तटबन्ध निर्माण भइरहेको छ। नेपालतर्फ ०७१ सालबाट तटबन्ध निर्माण सुरु गरिएको हो भने भारतले गत वर्षबाट पक्की तटबन्ध बनाउन थालेको हो। नेपालले ०७० असारको बाढीपछिको महाकालीको धार परिवर्तन नहुने गरी तटबन्ध बनाइरहेको छ।

बाढीलगत्तै नेपाल–भारतका अधिकारीहरूबीच सीमा नदीमा संरचना निर्माण गर्दा अन्तर्राष्ट्रिय सन्धि–सम्झौतालाई आधार मानेर आपसी समझदारीमा गर्ने सहमति भएको थियो। नेपालले त्यसैअनुरूप तटबन्ध निर्माण सुरु गरे पनि भारतले नदी किनारको एक किलोमिटर क्षेत्रमा महाकालीको धार नेपालतर्फ फर्कने गरी तटबन्ध बनाइरहेको छ।

‘वर्षातमा उच्च बहाव हुँदा ९० मिटर फराकिलो ठाउँमा बगे सामान्य मान्न सकिन्छ,’महाकाली नदी नियन्त्रण आयोजनाका सूचना अधिकारी इन्जिनियर स्मिथ श्रेष्ठले भने, ‘गहिरो ठाउँमा ८० मिटर आसपासमा महाकाली बगे दुवैतिर असर गर्दैन। अहिले भारतले जुन क्षेत्रमा तटबन्ध निर्माण गरिरहेको छ, त्यहाँ सामान्य अवस्थामा पनि नदीलाई बग्न स्पेस कम छ।’ भारतीय तटबन्धले ठाउँ झन् साँघुरिएको छ।

गत कात्तिकमा जति महाकालीको बहाव भए यसपालिको मनसुनले धेरै क्षति गर्ने खतरा रहेको इन्जिनियर श्रेष्ठले बताए। उनका अनुसार तटबन्ध निर्माण गर्न भारतले बनाएका अस्थायी संरचनाका कारण नदी ३० मिटरमा बग्ने स्थिति छ। बहाव पनि नेपालपट्टि धकेलिएको छ।

‘अहिले पनि बांगाबगरको छाङरु स्कुल पछाडिपट्टिको भागमा तटबन्ध जोखिमयुक्त छ, ओभरफ्लो हुने सम्भावना पनि उत्तिकै छ,’ उनले भने, ‘भारतले पानीको धार नेपालतर्फ फर्काउन बनाएको अस्थायी संरचना मनसुनअगावै नहटाए क्षति बढी हुन सक्छ।’ भारतले तटबन्धको जगभन्दा करिब ८÷१० मिटर वरसम्म नदीको धार धकेलिने गरी ग्याबिनमा ढुंगा भरेर अस्थायी संरचना बनाएको छ।

गत वर्ष बर्खामा छाङरु स्कुलपछाडि महाकालीको सतहले तटबन्ध नाघेको थियो। निर्माणाधीन भारतीय तटबन्धका कारण त्यहाँ यसपालि नदी साँघुरिएको इन्जिनियर श्रेष्ठले बताए। भारतले १० मिटर चौडाइ र ९ मिटर उचाइको तबटन्ध बनाइरहेको छ। यो तटबन्ध पूरै बन्ने हो भने महाकालीको बहावले नेपालतर्फ धेरै क्षति गर्ने सम्भावना छ।

नेपालतर्फको भन्दा भारतले एक मिटर अग्लो तटबन्ध बनाएकाले नदीको बहावयता बढी हुने इन्जिनियर श्रेष्ठले बताए। ‘तटबन्ध निर्माणका लागि बहाव फर्काउन बनाएका अस्थायी संरचनाले महाकाली नदी बढी साँघुरिएको छ,’ उनले भने, ‘नदी गहिराइमा बगे त्यसले तटबन्धको संरक्षणका लागि निर्माण गरेको कटप (जग) मा बढी क्षति गर्छ।’

भारतले तटबन्ध निर्माण गरेर घट्धार खोलादेखि नै महाकालीको धार नेपाल फर्काएको बांगाबगरका जयसिंह कार्कीले बताए। सीमा नदीमा आफूखुसी तटबन्ध निर्माण सुरु गरेदेखि नै स्थानीयले विरोध गरे पनि भारतले काम रोकेको छैन। भारतले पहिलेको तटबन्ध ९२०७० को बाढीअघि० भन्दा ९ मिटर वरै बहाव धकेलिने गरी तटबन्ध बनाइरहेको हो। यो समाचार कान्तिपुर दैनिकले प्रकाशित छ।


ताजा समाचार