नागरिकता विधेयक अगाडि बढाउने सत्ता गठबन्धनको निर्णय

काठमाडौँ। सत्ता गठबन्धनले नागरिकता विधेयक अगाडि बढाउने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार अपरान्ह बसेको बैठकले नागरिकता विधेयक अगाडि बढाउने निर्णय गरेको हो।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयकलाई अगाडि बढाउने प्रस्ताव गरेका थिए। बैठकपछि सञ्चारमन्त्री सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले, ‘हाम्रो समाजमा बुवा र आमा नेपाली नागरिक हुँदा पनि सन्तानले नागरिकता नपाएको अवस्था छ। त्यसलाई अन्त्य गर्न अग्रसरता लिने निर्णय भएको छ।’ बजेट पारित भएपछि सरकारले नागरिकता विधेयक अगाडि बढाउने तयारी थालेको छ।

विधेयक अगाडि बढाउने विषयमा राजनीतिक वातावरण निर्माणका लागि गृहमन्त्री बालकृष्ण खाणले अग्रसरता लिएका छन्। उनले गठबन्धन र विपक्षी दलका नेतृत्वसँग छलफल गरेका थिए। बैठकले अब नागरिकता विधेयक अगाडि बढाउन गठबन्धनले निर्णय गरेको मन्त्री कार्कीले बताए। बैठकमा शान्ति प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्याउने विषयमा पनि छलफल भएको मन्त्री कार्कीले बताए।

कार्कीका अनुसार कानुनमन्त्री गोविन्द बन्दीले शान्ति प्रक्रियाबारे अहिलेसम्म भएका प्रगति प्रतिवेदन बैठकमा प्रस्तुत गरेका थिए। चाडैं शान्ति प्रक्रियाको विषय टुंग्याउने सहमति भएको मन्त्री कार्कीको भनाइ छ। यस्तै महँगी बढेको विषयमा छलफल भएको उनले बताए। महँगी नियन्त्रणका लागि सम्बन्धित मन्त्रालयसँग छलफल गरिने उनले बताए।


ताजा समाचार