गायिका मृत्यु प्रकरण: यस्तो आयो पोष्टमार्टम रिपोर्ट

काठमाडौँ। लोक दोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरणमा प्रहरीले प्रतिक्षा गरिरहेको पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट चिकित्सकले प्रहरीलाई सुनाएका छन्।

पोष्टमार्टमबाट पनि आत्महत्यालाई नै जोड पुर्‍याउने संकेत देखिएको एक अनुसन्धान अधिकृतले बताए। प्रहरी वृत्त, बालाजुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले चाहिँ पोष्टमार्टमको आधिकारिक रिपोर्ट आइनसकेको बताए।

तर चिकित्सकसँग सम्पर्कमा रहेको स्रोतका अनुसार जाँचबुझमा संलग्नले सुनारको मृत्यु ‘स्ट्यांगुलेसन’का कारण नभएको भनेका छन्। प्रहरी अधिकृतहरुका अनुसार यो भनेको उनको मृत्यु घाँची थिचिएका कारण नभएको भन्ने हो।

‘शरीरमा अन्यत्र पनि कुनै चोटपटक देखिएको छैन, ह्याङ्गिङकै कारण मृत्यु भएको चिकित्सकले भनेका छन्’ प्रहरी स्रोतले भन्यो। उनले मृत्यु अघि केके खाएकी थिइन् भन्ने थाहा पाउन प्रहरीले भिसेरा जाँच गर्ने तयारी पनि गरेको छ। यद्यपि, यसको रिपोर्ट आउन समय लाग्छ।

प्रहरीले यो घटनामा सुनारका प्रेमी सूर्य श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। प्रहरीले घटनाको कारण पोष्टमार्टम रिपोर्टबाट खुलेपछि त्यही अनुसार अघि बढ्ने बताएको थियो। तर श्रेष्ठविरुद्ध परिवारले ज्यान सम्बन्धी कसूरमा किटानी जाहेरी दिइसकेका छन्। त्यही अनुसार ५ दिन म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

शनिबार बिहान पौने ११ बजे सुनार कोठामा मृत अवस्थामा भेटिएकी थिइन्। प्रेमी श्रेष्ठले पक्राउ गरेपछि सुरुवातमा झुटो बयान दिएका थिए। पछि उनी घटना भएको दिन घटना भएकै कोठामा बसेको खुलेको थियो। बिहान ४ बजेतिर उनी कोठाबाट निस्किएको खुलेको थियो।

प्रहरीसँग बयान दिँदै उनले सुनार ‘झुण्डिएको देखेपछि निकालेको’ बताएका छन् । आत्तिएर झुण्डिएको सल पनि लिएर गएको भन्दै उनले सल फ्याँकेको ठाउँ पनि देखाएका छन् । त्यही आधारमा सल बरामद भएको छ।

गायिका सुनारको फेसबुकमा शनिबार राति १ः१० बजे ‘कसैको माया पाउन जति कोशिश गरे पनि पाउन सकिन, तर पनि हार खाइन। तर अहिले धेरै गाह्रो भयो, म बाँचेर पनि दिन्दिनै मर्न सकिन आमा’ भन्दै स्ट्याटस पोष्ट भएको थियो।

तर उनको कोठामा मोबाइल बरामद नभएपछि घटना शंकास्पद बनेको छ। प्रहरीले मोबाइलको खोजीलाई जारी राखेको छ। यद्यपि, हालसम्म फेला परेको छैन। श्रेष्ठले मोबाइल पनि लगेको हुनसक्ने आशंका गरिए पनि उनले खुलाएका छैनन्।


ताजा समाचार