नश्लवादी राष्ट्रवादले देश बन्दैन: राजेन्द्र महतो

काठमाडौँ। राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नश्लवादी राष्ट्रवादले मुलुक नबन्ने दावी गरेका छन्। मधेशी फोरमका अध्यक्ष सञ्जय यादवसहित दुई दर्जन विद्यार्थीहरुलाई पार्टीमा प्रवेश गराउँदै उनले यस्तो दावी गरेका हुन्।

आज बिहीबार बबरमहलस्थित केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा युनाईटेड मधेशी फोरमका अध्यक्ष सञ्जय यादवसहित दुई दर्जन विद्यार्थीहरुलाई राजपाका अध्यक्ष महन्थ ठाकुर र अध्यक्ष मण्डलका संयोजक तथा कार्यक्रमका सभापति राजेन्द्र महतोले माला, अविर लगाउँदै पार्टी प्रवेश गराएका हुन्।

उनले भने,‘नश्लीय राष्ट्रवादको कारण संघीयता पंगु बनाइएको छ। आफ्नो अनुहारको अनुसारको संघीयता चाहनेहरुमाथि गोली चलाएर संविधान जारी भयो। यसले गर्दा साझा फूलबारीको संविधान बनेन। नश्लवादीहरुले बनाएको संविधानले जनताको हित गर्न सक्तैन। नश्लवादी सोचले बनाइएको संविधानमा आदिवासी, जनजाती, पिछडिएको वर्ग,क्षेत्र र मधेसीको भावनालाई समावेश गर्न सकेको छैन। नश्लीय राष्ट्रवालाई पराजित गर्न नयाँ संगठन र नयाँ तागतको खाँचो छ। कम्युनिष्ट र कांग्रेसले देश बनाउन सक्दैन भन्ने कुरा उनीहरुको साशन हेरेर प्रमाणित भइसकेको छ।’

उनले अगाडी भने, ‘एक जातले देश बन्दैन। नामधारी कम्युनिष्ट र कांग्रेसको समय सकिएको छ। हामी वैकल्पिक शक्तिका रुपमा आएका छौं। हामीले हिमाल, पहाड र तराईका जनतालाई एक ठाउँमा उभ्याएर अगाडि जानुपर्छ। हाम्रो पार्टी आफूलाई यसरी नै वैकल्पिक शक्तिका रुपमा खडा गर्नेछ।’


ताजा समाचार