प्रेमगीत ३ को हिन्दी डबले स्वदेशी फिल्मसरहको सुविधा नपाउने

काठमाडौं।  अहिले फिल्म ‘प्रेमगीत ३’लाई लिएर बजार तातेको छ। यो फिल्म नेपाली र हिन्दी भाषामा डब सहित दुई भाषामा निर्माण भएको छ। फिल्म भारत र नेपालमा प्रदर्शन हुँदैछ। हिन्दीमा डब भएको ‘प्रेमगीत ३’को नेपाल प्रदर्शनलाई लिएर विवाद भइरहेको छ।

यही विवादलाई लिएर चलचित्र निर्माता संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। संघका अध्यक्ष नवल खड्काले ‘प्रेमगीत ३’ले नेपाली फिल्मको बजार विस्तारका लागि खेलेको भूमिका प्रति प्रशंसा गर्दै निर्माता संघमाथि भइरहेको प्रहारमाथि भने ध्यानाकर्षण भएको जनाएका छन्।

संघका तर्फबाट एक विज्ञप्ति जारी गर्दै निर्माता संघ नेपालमा प्रदर्शन हुने कुनै पनि भाषाका फिल्मप्रति नकारात्मक नरहेको उल्लेख गरेको छ।

संघका महासचिव सुनिलकुमार थापाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘हाम्रो ध्यान सदैव नेपाली फिल्मको वृहत्तर हितको लागि मात्र रहिआएको छ र हामीले स्वदेशी फिल्मको अस्तित्व रक्षार्थ विगतदेखि नै विदेशी फिल्मको अतिक्रमण विरुद्धमा लड्दै आइरहेका छौं।

हाम्रो लडाई विशुद्ध विदेशी फिल्मको अतिक्रमण विरुद्ध हो। फिल्म भनेको व्यापारको साधन मात्रै होइन, यो भाषा, कला, साहित्य र संकृतिको द्योतक पनि हो।

त्यसैले राज्यले प्रदान गर्ने सेवा, सुविधा र सहुलियत केवल नेपाली भाषाका फिल्मलाई हुनुपर्छ भन्ने हाम्रो मान्यता रहँदै आएको छ। भाषा भनेको अभिव्यक्तिको माध्यम हो भने कला, साहित्य, संकृति र भेषभूषासँग यसको अन्तर्निहित सम्बन्ध हुन्छ। त्यसैले यो सभ्यताको प्रतीक पनि हो।’

विदेशी भाषाको फिल्म देखाएर स्वदेशी सरहको सेवा, सुविधाको माग दाबी गर्नु वाञ्छनीय नहुनुका साथै ऐन–कानुनको बर्खिलापमा हुने र यसले भविष्यमा समेत विकृतिको सुरुवात गर्नसक्ने निर्माता संघले उल्लेख गरेको छ।

निर्माता संघले चलचित्र विकास बोर्डसँग ‘प्रेमगीत ३’लाई प्रदर्शनका साथै कर तथा राजश्व छुट र सहुलियत प्रदान गर्ने निर्माण पक्षको माग दाबीका सम्बन्धमाफिल्म निर्माण, वितरण तथा प्रदर्शन ऐन तथा नियमावलीअनुसार विधि र विधान अनुरुप नै गर्न आग्रह गरेको छ।

हिन्दीमा डब भएको ‘प्रेमगीत ३’ रिलिजलाई लिएर फिल्मका नायक प्रदीप खड्काले विकास बोर्डका अध्यक्ष भुवन केसीसँग राजीनामा माग समेत गरेका थिए। सामाजिक सञ्जालमा अहिले उनी निर्माता संघ तथा विकास बोर्ड अध्यक्ष केसीको खरोरुपमा विरोध गरिरहेका छन्।


ताजा समाचार