आजदेखि लामो तथा छोटो दुरीका गाडीको यान्त्रिक परीक्षण अनिवार्य
काठमाडौं। काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीका सवारी साधनले आजदेखि अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने भएको छ। दशैंको समयमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले सवारी साधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको हो।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले रुट परमिट लिने बेला यान्त्रिक परीक्षण अनिवार्य गरिएको जानकारी दिए। उनका अनुसार यान्त्रिक परीक्षणको व्यवस्थापन सम्बन्धित सवारी साधनको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरुको समन्वयमा हुनेछ।
‘यान्त्रिक परीक्षणविना सवारी साधन चलाउन पाइँदैन,’ उनले भने, ‘यो नियम सबै प्रकारका सार्वजनिक सवारी साधन र भाडामा प्रयोग गरिएका निजी गाडीहरुमा आजैदेखि लागू हुने छ।’ काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य–मुख्य नाकामा सवारी साधनहरुको चेक जाँचको व्यवस्था मिलाइएको छ।
यसैगरी यात्रुको बिमा गरिएको हुनुपर्ने, लामो दुरीका सवारी साधनमा दुईजना चालक अनिवार्य राख्नुपर्ने, सवारी साधनमा सरोकारवालाको फोन नम्बर यात्रुले देख्ने गरी राख्नुपर्ने, टाइम कार्ड पालना गर्नुपर्ने र गाडीमा झुण्डिएर र छतमा बसेर यात्रा गर्न नपाइने व्यवस्था पनि मिलाइएको गृह मन्त्रालयले जनाएको छ।