साफ च्याम्पियनसिप : नेपालले १० वर्षपछि भारतलाई हराउने मौका

बेंगलोर। नेपालको पुरुष फुटबल टिमले पछिल्लो पटक भारतलाई पराजित गरेको एक दशक भइसकेको छ । सन् २०१३ मा काठमाडौंमै भएको साफ च्याम्पियनसिपमा नेपालले समूह चरणमा भारतलाई २(१ ले पराजित गरेको थियो ।

तर त्यसपछि नेपालले भारतलाई हराउन सकेको छैन । साफ च्याम्पियनसिपमै २०१५ र २०२१ मा गरी नेपालले भारतसँग अरु तीन खेल खेलिसक्दा तीनवटै खेलमा पराजित भएको छ ।

२०१५ मा भारतकै त्रिवेन्द्रमा भएको साफमा नेपाल भारतसँग ४(१ ले पराजित भएको थियो भने २०२१ माल्दिभ्समा भएको साफमा भारतसँग लिग चरण र फाइनल दुवैमा पराजित भएको थियो । लिग चरणमा १(० ले पराजित भएको नेपाल फाइनलमा भारतसँग ३(० ले पराजित भएको थियो ।

यो सन्दर्भ किनभन्दा अहिले भारतकै बेंगलोरमा १४औं संस्करणको साफ च्याम्पियनसिप भइरहेको छ र नेपालले शनिवार भारतसँग खेल्दा २०१३ को जित पक्कै सम्झनेछ ।

२०१३ मा नेपालले भारतलाई हराउँदाको टिममा रहेका किरण चेम्जोङ, रोहित चन्द, विमल घर्ती मगर र विशाल श्रेष्ठ अहिले पनि टिममा छन् । उनीहरुलाई नै त्यो जितको सम्झना सबैभन्दा बढी छ ।

त्यसयता नेपाली टिम र भारतीय टिम दुवै धेरे फेरिएको छ । त्यसबेला नेपालका लागि गोल गरेका स्ट्राइकरद्वय अनिल गुरुङ र जुमानु राईले सन्यास लिइसकेका छन् ।

यस्तै भारतविरुद्ध नेपाल २०१३ को जितपछि १० खेलमा जितविहीन छ । त्यसयता सात खेलमा नेपाल भारतसँग पराजित भएको छ भने ३ खेल मात्र बराबरी गर्न सकेको छ ।

एक दशकपछि के नेपालले भारतलाई हराउलात रु यसको उत्तर दिन अहिल्यै गाह्रो छ । श्री कान्तिरवा स्टेडियममा साढे ७ बजे सुरु हुने खेलमा नेपाल जितकै लक्ष्यका साथ मैदान उत्रनेछ । तर नेपालले कस्तो नतिजा ल्याउँछ भन्ने थाहा पाउन भने त्यपछि थप ९० मिनेट कुर्नुपर्नेछ ।

तथ्य के हो भने नेपालले भारतलाई २०१३ पछि हराउन सकेको छैन । यस्तै भारतमा आएर नेपालले भारतलाई जित्न सकेको छैन । भारत पछिल्लो सात खेलमा अपराजित छ । सातै खेलमा भारतले गोल खाएको छैन ।

जारी साफमा नेपाल पहिलो खेलमै कुवेतसँग ३(१ ले पराजित भइसकेको छ । उता भारतले पहिलो खेलमा सुनिल क्षेत्रीको ह्याट्रिकमा पाकिस्तानलाई ४(० ले हरायो ।

उता नेपालका नयाँ प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेस पहिलो पटक साफको अनुभव लिइरहेका छन् । तर उनलाई भारतीय फुटबलमा तीन वर्ष बिताएको अनुभव भने छ । ‘मलाई भारतीय फुटबलमा तीन वर्षको अनुभव छ र भारतसँग खेल्दा इमोसनल हुनेछ,’ उनले भनेका छन् ।

कुवेतसँगको हारपछि नै एनेसले भारतविरुद्धको खेल फाइनल जस्तै हुने बताइसकेका छन् । उनले भनेजस्तै प्रतियोगितामा टिकिराख्न नेपालले कम्तीमा पनि भारतविरुद्ध हार टार्नुपर्छ । नेपालले सेमिफाइनल सम्भावना कायम राख्न भारतलाई हराउनुपर्छ वा बराबरीमा रोक्नुपर्छ । उनले थपे, ‘भारत विरुद्धको खेल हाम्रो लागि फाइनल जस्तै हुनेछ ।’

शनिबारै हुने पहिलो खेलमा कुवेत र पाकिस्तान खेल्नेछन् । त्यसमा खेलमा कुवेत विजयी भएमा नेपाल भारतसँग पराजित भएमा सेमिफाइनल पुग्ने दुई टिमकै टुङ्गो लाग्नेछ ।

नेपालमा प्रशिक्षक भिनसेन्चो एनसेल भारतविरुद्धको खेल अवसर र चुनौती दुवै भएको बताएका छन् । ‘हामी त्यस्तो भारतसँग खेल्दैछौं जसले पछिल्ला ७ खेलमा गोल खाएको छैन । उनीहरुसँग राम्रो खेलाडीहरु छन् जसले आइएसल जस्ता लिगमा खेल्छन् । र यो हाम्रो लागि कठिन खेल हुनेछ तर हामी हाम्रो क्यारेक्टर अनुसार जानेछौँ,’ एनेसले एआईएफएफसँग भनेका छन् । ‘हामी २० हजार मानिसको विरुद्धमा खेल्न जाँदैछौँ । त्यसैले हामीले शतप्रतिशत भन्दा धेरै दिन जरुरी छ । यो ठूलो अवसर हो र उत्तिकै चुनौती पनि हो ।’

२०२२ सेप्टेम्बरमा भियतनामसँग ३(० ले पराजित भएयता भारत हारेको छैन । त्यसपछिको ७ खेलमा अपराजित भारतले अहिलेमम्म कुल ६५० मिनेटसम्म कुनै गोल खाएको छैन ।

भारतीय प्रशिक्षक इगोर स्टिमाकले नेपालको नयाँ प्रशिक्षकले नयाँ फिलोसोफी लागु गर्ने प्रयास गरिरहेको बताएका छन् । तर उनले आफ्नै टिममा केन्द्रित हुने पनि बताए । ‘नेपालले केही महिनाअघि प्रशिक्षक परिवर्तन गरेको छ । उनी खेलमा नयाँ फिलोसोफी लागू गर्ने प्रयास गरिरहेका छन् । तर हामी त्यसका लागि सोचिरहेका छैनौँ । हाम्रो मुख्य कन्सर्न भनेको हामीले कहाँ सुधार गर्न सक्छौँ भन्ने हो । हामीले हाम्रो मोमेन्टमलाई कायम राख्नुपर्छ,’ उनले भने ।

स्टिमाकले पहिलो खेलमा जस्तै नेपाल विरुद्धको दोस्रो खेलमा पनि धेरै समर्कहरुलाई मैदान आउन आग्रह गरेका छन् । उनले समर्थकको समर्थन चाहिने बताएका छन् ।

स्टिमाक २०१९ मा प्रशिक्षक बनेपछि नेपालले भारतविरुद्ध खेलेका चारवटा खेलमा नेपाल जितविहीन छ ।

त्यसैले पनि घरेलु मैदानमा नेपाल विरुद्ध खेल्दा भारतको मनोबल पक्कै उच्च हुनेछ । भारतले लगातार दोस्रो जित निकाल्दै एक खेल अघि नै सेमिफाइनलमा स्थान बनाउने योजना राखेको छ । तर पहिलो खेलमा रातो कार्ड पाएका स्टिमाक नेपालविरुद्ध टच लाइनमा भने हुने छैनन् ।

यद्यपि पाकिस्तानविरुद्ध ह्याट्रिक गर्दै अन्तर्राष्ट्रिय गोल संख्या ९० पुर्‍याएका ३८ वर्षीय कप्तान सुनिल क्षेत्रीलाई रोक्नु नेपालका लागि चुनौतीपूर्ण बन्न सक्छ ।

अर्कोतर्फ नेपालका परवार्ड अन्जन विष्ट नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमानको नजिक छन् । उनले भारत विरुद्ध एक गोल गरेमा हरि खड्का र निराजन रायमाझीको नाममा रहेको १३ गोलको कीर्तिमान बराबरी गर्नेछन् ।

नेपाल र भारत मैदान उत्रँदा उनै सुनिल क्षेत्री, अन्जन विष्ट र नेपालका प्रशिक्षक एनेस मुख्य केन्द्रविन्दुमा हुनेछन् ।

नेपाल विरुद्भ भारत

मिति : ९ असार

स्थान : श्री कान्तिराव स्टेडियम, बेंगलोर

समय : राति पौने ८ बजे नेपाली समय


ताजा समाचार