भारतमाथि वेस्ट इन्डिजको दुर्लभ जित

ब्रिजटाउन। कप्तान साइ होपको निर्णायक प्रदर्शनको मदतले वेस्ट इन्डिजले भारतलाई दोस्रो वान डेमा शनिबार छ विकेटले पराजित गरेको छ।

वेस्ट इन्डिजले वान डे क्रिकेटमा भारतलाई हराएको यो चार वर्षयताको पहिलो हो। यो नतिजापछि तीन खेलको शृंखला १–१ को बराबरीमा पुगेको छ। किङ्सटन ओभलमा भएको खेलमा पहिले ब्याटिङ गरेको भारत ४०.५ ओभर मात्र टिक्न सक्यो र यसबीच १ सय ८१ रनको स्कोर मात्र खडा गर्न सकेको थियो।

जवाफमा वेस्ट इन्डिजले ३६.४ ओभरमा चार विकेट गुमाएर १ सय ८२ रन बनायो। होप ६३ रन बनाएर नटआउट रहे। यस्तै केसी कार्टीले पनि नटआउट रहेर ४८ रन बनाए।

उनीहरूले पाँचौं विकेटका लागि ९१ रनको साझेदारी गरे। यससँग वेस्ट इन्डिजले वान डे क्रिकेटमा भारतविरुद्ध लगातार नौ हारको क्रममा पूर्णविराम लागेको छ।


ताजा समाचार