मन्त्री ज्वालाको प्रश्न: फाष्ट ट्रयाक किन फाष्ट रुपमा हुन सकेन ?

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नेपाली सेनाले हाल बनाइरहेको काठमाडौं–तराई /मधेश द्रुत मार्ग (फाष्ट ट्रयाक) किन फाष्ट रुपमा बन्न सकेन भन्दै प्रश्न गरेका छन्।

शुक्रवार मन्त्रालयमा सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल लगायत राष्ट्रिय गौरबका आयोजनाका प्रमुखहरुलाई निर्देशन दिने क्रममा मन्त्री ज्वालाले सेनाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले भने, ‘नेपाली सेनाबाट सडक निर्माणका क्षेत्रमा प्रसंशनीय कामहरु भइरहेका छन् तर फास्ट ट्रयाकको काम किन फास्ट रुपमा हुन सकेन ।’ राष्ट्रिय गौरबका आयोजना, रुपान्तरणकारी योजना र अन्य महत्वपूर्ण योजनाहरुलाई युद्धस्तरमा काम गर्न ज्वालाले निर्देशन दिए। वर्षौ पहिले निर्माणका काम थालिएका योजनाहरु पटक–पटक म्याद थप्दा पनि नसकिँदा नागरिकमा गलत सन्देश गएको भन्दै मन्त्री ज्वालाले यो वा त्यो बहानामा निर्माण कार्य ढिला नगर्न निर्देशन दिएका छन् ।

‘अन्धाधुन्ध काम गरेर मात्र हुँदैन, शक्तिशाली सिंहजस्तै दुई कदम अगाडी बढ्ने र एकपटक समिक्षा गर्ने नीति लिएर निर्माण कार्यमा लाग्न जरुरी छ’ मातहतका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री ज्वालाले भने, ‘प्रत्येक चौमासिकमा योजनाहरुको अनिवार्य समिक्षा गर्न चलन बसालौ, त्यसले आयोजनामा आएका समस्याको पहिचान र समाधानको उपाय दिन्छ ।’

यस्तो छ हालसम्म राष्ट्रिय गौरबका ६ आयोजनाको प्रगति 

हालसम्म (कर्णाली करिडोर) हिल्सा–सिमिकोट सडकको भौतिक प्रगति २४ प्रतिशत भएको छ भने वित्तिय प्रगति २०.२१ प्रतिशत भएको छ । २०६९ मा सुरु भएको यो सडक आयोजना आर्थिक वर्ष २०८३/८४ मा सम्पन्न गर्ने लक्ष्य छ। आयोजनाको लागत ६ अर्ब ६६ करोड रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि कालिगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला योजना) को भौतिक प्रगति ७३ प्रतिशत र वित्तिय प्रगति ७० प्रतिशत भएको छ । १० अर्ब ५७ करोड लगानी रहेको यो सडक आयोजना २०७३ मा सुरु भएको थियो । सम्पन्न गर्ने अवधि आर्थिक वर्ष २०८१/८२ सम्म छ ।

उत्तर दक्षिण राजमार्ग (कालिगण्डकी करिडोर–गैडाकोट राम्दी मालढुंगा खण्ड) को भौतिक र आर्थिक प्रगति क्रमशः ४५ र ४३ प्रतिशत रहेको जानकारी आयोजना प्रमुखले मन्त्री ज्वालालाई गराएका छन् । २०६६ मा सुरु भएको यो आयोजना आर्थिक वर्ष २०८३/८४ मा सम्पन्न गर्ने तयारी छ । नौ अर्ब  ९५ करोड लागतमा बन्न लागेको यो आयोजनामा १५ वटा पूलको ठेक्का लाग्न बाँकी छ भने १८ किमी सडक अझै बनाउन बाँकी छ ।

११ अर्ब ९३ करोड रुपैँयामा बन्न लागेको उत्तर दक्षिण (कोशी) सडक योजनाको भौतिक र आर्थिक प्रगति ४२ प्रतिशत भएको छ । बरुणदेखि च्याम्ताङ सम्मको ५४ किलोमिटर सडकको स्त्तरोन्नती गर्न बाँकी छ भने हटिया माथिक पूलहरु अध्ययनकै क्रममा रहेको आयोजनाले जनाएको छ । मन्त्रालयका अनुसार हुलाकी राजमार्गको हालसम्म भौतिक र आर्थिक दुवै प्रगति ९१ प्रतिशत भएको छ । २०६६ मा निर्माण सुरु गरेको हुलाकी सडकको लागत खर्च ६५ अर्ब २० करोड रुपैँया हो ।

अझै १७६.५ किलोमिटर सडकको र ५० वटा पूलको ठेक्का व्यवस्थापन गर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ । ठूलो लागतमा बन्न लागेको पुष्पलाल (मध्य पहाडी राजमार्ग) को भौतिक प्रगति ७२ प्रतिशत मात्रै भएको आयोजनाले जनाएको छ । आर्थिक प्रगति भने ७६.८० प्रतिशत भएको छ । २०६४ मा सुरु गरिएको यो आयोजनामा अझै ११६ किलोमिटर सडक र १५ वटा पूलको ठेक्का लगाउन बाँकी रहेको छ ।


ताजा समाचार