भारतीय महिला वैज्ञानिक, जसले चन्द्रयान-३ मिसन सफल बनाए

काठमाडौँ। ‘चन्द्रयान ३’ को बुधबार चन्द्रमा सफलतापूर्वक अवतरणपछि भारत र विश्वभर भारतीय वैज्ञानिकको चर्चा सुरु भएको छ।

इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) का वैज्ञानिकहरुले कम प्रकाश पुग्ने र अवतरण गर्न कठिन मानिएको दक्षिणी ध्रुवमा बुधबार साँझ ‘चन्द्रयान ३’ को ‘सफ्ट ल्यान्डिङ’ गराएका हुन्।

असार २९ गतेको आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतिश धवन अन्तरीक्ष केन्द्रबाट चन्द्रयान ३ को प्रक्षेपण गरिएको थियो । जसमा रहेको प्रज्ञान रोभर ल्यान्डरबाट बाहिर निस्केर चन्द्रमाको सतहमा हिँड्न थालिसकेको छ ।

चन्द्रयानको यो मिसनसँगै यसमा संलग्न महिला वैज्ञानिकहरुको पनि चर्चा सुरु भएको छ । इसरोको ‘कमाण्ड सेन्टर’मा महिला वैज्ञानिकको समूह फोटोहरु सार्वजनिक भएका छन् । इसरोको प्रमुख एस सोमनाथले महिला वैज्ञानिकहरुले यस अभियानमा महत्त्वपूर्ण भूमिका खेलेको बताएका थिए । भारतीय रुपैयाँ ७ अर्ब खर्च गरिएको चन्द्रयान ३ मा करिब १ हजार इन्जिनियर र वैज्ञानिक संलग्न थिए । जसमा एक सयभन्दा बढी महिला इन्जिनियर र वैज्ञानिक संलग्न रहेका थिए । भारतले यसअघि २०१९ मा चन्द्रमामा पठाएको चन्द्रयान २ अवतरणको अन्तिम समयमा दुर्घटनामा परेको थियो । त्यसबेलाको ज्ञान र अनुभवले अहिले चन्द्रयान ३ को मिसन सफल भएको मानिन्छ ।

जसमा एम भनिथा, कल्पना के र रितु करिधल श्रीवास्तवको प्रमुख भूमिका थियो । मिसन सम्पन्न भएसँगै उनीहरूको चर्चा सुरु भएको हो । भनिथा र कल्पना मिसनमा उपनिर्देशकको रुपमा रहेका थिए भने रितुले समीक्षकको भूमिका निर्वाह गरेकी थिइन् ।

विज्ञान, प्रविधि, इन्जियरिङ तथा गणीत (स्टिम)का क्षेत्रमा पुरुषको दबदबा रहेको स्थानमा यी महिला वैज्ञानिकहरुको कौशललाई लिएर प्रशंसा गरिएको छ । ‘चन्द्रयान ३’ को समग्र अभियानमा भने एक सयभन्दा धेरै महिला वैज्ञानिकहरुको भूमिका थियो ।

कल्पना कलाहस्ती

बंगलोर मद्रासकी कल्पनाले चन्द्रयान ३ मिसनमा ल्यान्डर सिस्टरको डिजाइन गर्न र त्यसलाई परिस्कृत गर्न भूमिका खेलेकी थिइन् । ४३ वर्षीया कलाहस्ती सन् २००३ मा इसरोसँग संलग्न भएकी थिइन् । जतिबेला उनी २३ वर्षकी थिइन् । मंगलयान र भू उपग्रह प्रक्षेपणमा पनि उनले भूमिका खेल्दै आएकी थिइन् । सन् २०१९ मा चन्द्रयान २ मा पनि उनले उपनिर्देशकको रुपमा भूमिका खेलेकी थिइन् ।

उनले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी खडकपुरबाट एरोनोटिकल इन्जिनियरिङबाट ग्र्याजुएट र मद्रास युनिभर्सिटीबाट बिटेक गरेकी हुन् ।

एम भनिथा

एम भनिथा चन्द्रयान २ मा परियोजना निर्देशक रहेकी थिइन् । जवकि उक्त यान चन्द्रमामा अवतरणको अन्तिम चरणमा दुर्घटना भएको थियो । ५९ वर्षीया एम भनिथा पेशाले इलेक्ट्रोनिक सिस्टम इन्जिनियर हुन् । जो भारतको चन्द्र अभियानको नेतृत्व गर्ने पहिलो महिलासमेत हुन् ।

२००६ मा एस्ट्रोनोमिकल सोसाइटी अफ इन्डियाबाट ‘बेस्ट वोमेन साइन्टिस्ट’ को उपाधिसमेत पाएकी भनिथाले यसअघि भारतले सञ्चालन गरेका कार्टोस्याट- १, ओसनस्याट- २, मेघाट्रोपिक्स र २०१३ को सफल मंगलयान मिसनमा उपनिर्देशकको रुपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

रितु करिधल श्रीवास्तव

चन्द्रयान ३ मिसनमा ४८ वर्षीया रितु करिधल श्रीवास्तवको सबैभन्दा बढी चर्चा भएको छ । ‘रकेट लेडी’को उपनामले चिनिने रितुलाई ‘चन्द्रयान ३’ मिसन सफल बनाउने प्रमुख वैज्ञानिकका रुपमा पनि चर्चा गरिएको छ ।

यस मिसनमा उनको महत्त्वपूर्ण भूमिका रहेको भारतीय र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । इसरोको महत्त्वपूर्ण सम्पत्ति भन्दै चर्चा गरिएकी रितुले यसअघि मंगल ग्रहमा अन्तरीक्ष यान पठाउने मिसनमा पनि महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् ।

उत्तर प्रदेशको लखउनस्थित मध्यम वर्गीय परिवारमा जन्मिएकी रितुले लखउन विश्वविद्यालयबाट भौतिकशास्त्रमा स्नातक र इन्डियन इन्स्टिच्युट अफ साइन्सबाट एरोस्पेस इन्जिनियरिङ (एमई) गरेकी हुन् । सानै उमेरदेखि अन्तरीक्ष विज्ञानमा चासो राख्ने रितु सन् १९९७ मा इसरोमा प्रवेश गरेकी थिइन् । यसअघि मंगलयान मिसनमा पनि उनले उपनिर्देशकको रुपमा भूमिका निर्वाह गरेकी थिइन् । २०१३ को मंगलयान मिसनलाई इसरो वैज्ञानिकहरुको महत्त्वपूर्ण उपलब्धिको रुपमा हेरिन्छ ।

रितुकै लगन र मिहिनेतका कारण भारत १८ महिनामै मंगल ग्रहमा पुगेको थियो भने त्यसबेला अभियानको लागत पनि घटेको थियो । चन्द्रयान ३ मा काम गर्नुअघि उनले चन्द्रयान २ मा मिसन डाइरेक्टरको रुपमा काम गरेकी थिइन । त्यसैगरी चन्द्रयान १, जीस्यान ६ ए र जिस्याट ७ ए मा पनि उनी संलग्न रहेकी थिइन् ।

यससँगै दक्षिण एसियाली मुलुक भारत चन्द्रमामा पुग्ने चौथो देश बनेको छ । अमेरिका, रुस र चीनपछि भारतले चन्द्रमामा सफल अवतरण गरेको छ । जवकि कठिन मानिने चन्द्रमाको दक्षिणी ध्रुवमा पहिलो पटक अवतरण गर्ने देश पनि भारत नै बनेको छ ।

भारतको यस मिसनले तीनवटा महत्त्वपूर्ण उपलब्धि हात पारेको छ । १. चन्द्रमाको सतहमा सुरक्षित र सफल अवतरण । २. चन्द्रमामा रोभरको ड्राइभिङ क्षम अवलोकन र प्रदर्शन । ३. चन्द्रमाको संरचनालाई राम्रोसँग बुझ्न चन्द्रमाको सतहमा उपलब्ध सामग्रीको प्रयोग र अवलोकन ।


ताजा समाचार