मेस्सीले विश्वकप जितेको दिन, फ्रान्सको कमब्याकदेखि मार्टिनेजको बचाउसम्म के–के भएको थियो ?

स्टार फुटबलर लियोनल मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई फिफा विश्वकप फुटबलको उपाधि दिलाएको आज सोमबार एक वर्ष पूरा भएको छ ।

गतवर्ष डिसेम्बर १८ मा विश्वकप जितेसँगै अर्जेन्टिना तीनपटक विश्वकपको उपाधि जित्ने टोली बनेको छ । अन्तिम विश्वकप जितेको ३६ वर्षपछि मेस्सीको नेतृत्वमा अर्जेन्टिनाले विश्वकप जितेको थियो ।

विश्वकप जितेसँगै फुटबलमा पाउनुपर्ने सबै उपाधि हासिल गरिसकेका मेस्सीलाई सर्वकालीन महान् खेलाडी ‘गोट’को उपमा पनि दिइएको छ । मेस्सीको नाम स्पेन र अर्जेन्टिनाको शब्दकोशमा पनि समावेश छन्, जसको अर्थ हुन्छ– फुटबल खेल्ने उत्तम तरिका, आत्म–सुधार गर्ने असीमित क्षमता र सबै समयको महान् खेलाडी हो ।

मेस्सीले अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएको एक वर्ष पूरा हुँदै गर्दा एक वर्षअगाडिको फाइनल खेलमा कस्ता घटनाक्रमहरू भएका थिए रु आउनुहोस्, फेरि एकपल्ट फाइनल खेलको महत्त्वपूर्ण क्षणलाई सम्झना गरौँ ।

– खेलको २३औँ मिनेटमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध सुरुवाती अग्रता लिएको थियो । फ्रान्सका ओउसमान डेम्बेलेले डिबक्सभित्र अर्जेन्टिनाका डिमारियालाई फल गरेपछि अर्जेन्टिनाले पेनाल्टी प्राप्त गरेको थियो । कप्तान मेस्सीले सो अवसरलाई सहजै गोलमा परिणत गरेका थिए ।

– खेलको ३६औँ मिनेटमा अर्जेन्टिनाले दोस्रो गोल गर्‍यो । एलेक्सिस म्याक अलिस्टरको पासमा डी मारियाले गोल गरेका थिए ।

– खेलको ८० र ८१औँ मिनेटमा फ्रान्सले उत्कृष्ट कमब्याक गरिदियो । उक्त उत्कृष्ट कमब्याकमा किलियन एमबाप्पे नायक बने । उनैले सुरुमा पेनाल्टी र मार्कस थरम्यानको पासमा गोल गर्दा खेल झनै रोचक र प्रतिस्पर्धात्मक विन्दुमा पुगेको थियो । अर्जेन्टिनाका निकोलास ओटामेन्डीले कोलो मोउनीलाई फल गरेपछि एमबाप्पेले ८०औँ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए ।

– निर्धातिर ९० मिनेट र अतिरिक्त समयसम्म फ्रान्स र अर्जेन्टिनी खेलाडीबीच तारिफयोग्य फुटबल प्रतिस्पर्धा भयो । २–० ले पछि परेको अवस्थामा फ्रान्सले उत्कृष्ट पुनरागमन गर्नाले खेल २–२ को बराबरीमा टुंगियो र खेलको नियमअनुसार थप ३० मिनेट अतिरिक्त समय थपियो ।

– स्मरणयोग्य त के छ भने ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टोलबीच रोचक भिडन्त भयो । बाँकी रहेको समयमा दुवै टोलीले १–१ गोल गरे ।

– खेलको १०८औँ मिनेटमा पोलबाट बाउन्स भएको बललाई मेस्सीले सहजै गोल गर्दा यस्तो लागेको थियो अब अर्जेन्टिनाले सहजै विश्वकप जित्नेछ । त्यसो त पहिलो हाफमै २–० ले अगाडि रहेको अर्जेन्टिनाविरुद्ध फ्रान्सले उत्कृष्ट कमब्याक गरेर यो सावित गरेको थियो कि फ्रान्सले अर्जेन्टिनाको हरेक गोललाई गोल गरेरै फर्काउनेछ । फेरि सोही घटनाक्रम दोहोरियो, खेलको ११८औँ मिनेटमा एमबाप्पेले पेन्टालीमा गोल छिराइदिए र खेललाई ३–३ को बराबरीमा पुर्‍याए ।

– त्यसपछि खेलको १२०ं३ मिनेटमा एउटा यस्तो अवस्था सिर्जना भइदियो, जसका कारण अर्जेन्टिनाले गोल खाने भयो भनेर अनुमान गरिएको थियो । फ्रान्सका कोलो मोउनीले वान भर्सेस वान् अवस्थालाई गोलमा परिणत गर्ने अनुमान गरिएको थियो । तर, अर्जेन्टिनी गोल रक्षक मोउनीको बाधक बनिदिए र अर्जेन्टिनाको मुक्तिदाता सावित भइदिए । गोल हुन लागेको बललाई उनले देब्रे खुट्टाले रोकिदिए । उक्त अवस्थामा गोल भइदिएको भए फ्रान्सले ४–३ अन्तरले खेल जित्दै लगादार दोस्रोपटक विश्वकप उचाल्ने थियो । किनभने अर्जेन्टिनासँग अर्को गोल फर्काउने समय नै हुने थिएन ।

– निर्धातिर ९० मिनेट र अतिरिक्त ३० मिनेटको समय पनि ३–३ गोलको बराबरीमा टुंगियो जसका कारण खेलको हारजितको निर्णय पेनाल्टीबाट गरिएको थियो । पेनाल्टीमा अर्जेन्टिनाले ४–२ गोल अन्तरले खेल जित्यो । उक्त फाइनल खेल अर्जेन्टिनाले जितेपछि अर्जेन्टिनी गोल रक्षक मार्टिनेजले सर्वोत्कृष्ट गोल रक्षाको अवार्ड पाए । त्यति मात्र नभएर मनोविश्लेषकहरूले मार्टिनेजले माइन्ड गेम खेलेका कारण पनि अर्जेन्टिनाले विश्वकप जितेको टिप्पणी गर्दछन् ।

वास्तवमा जब फ्रान्सेली खेलाडीहरू पेनाल्टी हान्न आउँथे तर मार्टिनेज उनीहरूसँग भनाभनमा उत्रिन्थे साथै उनी उक्त बललाई उनीहरूभन्दा पर फ्याँकिदिन्थे । सुरुवातमै विपक्षीलाई निराश बनाइदिँदा पनि ती खेलाडीले पेनाल्टीमा गोल गर्न चुकेको विश्लेषण गरिन्छ । प्रतियोगितामा ७ गोल गरेका मेस्सी सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए भने फ्रान्सेली एमबाप्पे ८ गोल गर्दै प्रतियोगिताको सर्वाधिक गोलकर्ता बनेका थिए ।


ताजा समाचार