आईपीएल : जस बटलरको शतकमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्समाथि २ विकेटको जित

इंग्लिस ब्याटर जस बटलरको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा कोलकाता नाइट राइडर्समाथि २ विकेटको जित हात पारेको छ ।

२२४ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो । जस बटलरले ६० बलमा ९ चौका र ६ छक्कासहित १०७ रनको अविजित शतकीय इनिङ खेले ।

बटलरको जारी प्रतियोगिता दोस्रो र आईपीएल करिअरको ७औं शतक हो । यस सिजनमा बेंग्लोर विरुद्ध १०० रन बनाएका थिए। अन्तिम ६ बलमा जितको लागि ९ रन चाहिएको थियो । पहिलो बलमा लङअनमा छक्का हाने पनि बटलरले त्यसपछि लगातार तीन बल डट खेलेका थिए । पाँचौं फुलटस बलमा दुई रन बटुल्दै बराबर गरेका थिए । अन्तिम बलमा एक रन बटुल्दै जित दिलाए।

एक समय ३६ बलमा ९६ रन चाहिएको अवस्थाबाट बटलरले अन्तिम समयसम्म खेल्दै टोलीलाई जिताएका हुन् । रियान पराग १४ बलमा ४ चौका र २ छक्कासहित ३४ तथा रोभम्यान पावेलले १३ बलमा १ चौका र ३ छक्कासहित २६ रन बनाए ।

यशस्वी जैसवाल १९, सञ्जु स्यामसन १२, रविचन्द्रन आश्विन ८ र शिम्रन हेटमायर डक आउट भए । कोलकाताका हर्षित राना, सुनिल नारायण र बरुण चक्रवर्तीले दुईरदुई विकेट लिए ।

त्यसअघि घरेलु रंगशाला इडेन गार्डेनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै २२३ रन बनाएको थियो ।

कोलकाताका सुनिल नारायणले ५६ बलमा १३ चौका र ६ छक्का सहित सर्वाधिक १०९ रन बनाए । नारायणको यो आईपीएल करिअरको पहिलो शतक हो । फिलिप साल्ट १०, रघुवंशी ३०, श्रेयस ऐर ११, आन्द्रे रसेल १३ र रिंकु सिंहले २० रन बनाए ।

राजस्थानका आवेश खान र कुलदीप सेनले दुईरदुई विकेट लिए । ट्रेन्ट बोल्ट र युजभेन्द्र चहलले एकरएक विकेट लिए । राजस्थान ७ खेलमा ६ मा जितका साथ १२ अंक जोड्दै शीर्ष स्थानमा छ । कोलकाता ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ।


ताजा समाचार