टी–२० विश्वकप २०२४ : अफगानिस्तानले राशिद खानको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा

अफगानिस्तानले अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि राशिद खानको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । अफगानिस्तानले १९ वर्षीय विकेटकिपर ब्याट्सम्यान मोहम्मद इशाकलाई टोलीमा समावेश गरेको छ ।

इशाकले यसै वर्ष टी–२० मा डेब्यु गरेका थिए र टी–२० विश्वकपको टिममा पनि स्थान बनाउन सफल भएका थिए । इशाक बाहेक करिम जनात र नूर अहमदलाई पनि टोलीमा स्थान दिइएको छ ।

अफगानिस्तानले २० वर्षीय बायाँ हाते स्पिन अलराउन्डर नाङ्ग्याल खरोतीलाई पनि आफ्नो विश्वकप टोलीमा समावेश गरेको छ। उनले पनि इशाकजस्तै यसै वर्ष डेब्यु गरेका थिए । खरोतीले राशिद खान, मोहम्मद नाबी, मुजिब उर रहमान र नूर अहमदसँगै टोलीको स्पिन विभागलाई बलियो बनाउनेछन् । नवीन उल हक, फरीद अहमद र फजलहक फारुकीले फास्ट बलिङ आक्रमणको जिम्मा लिनेछन् । १५ सदस्यीय खेलाडीबाहेक सादिक अटल, हजरतुल्लाह जाजई र सलिम सैफी रिजर्भ खेलाडीमा परेका छन् ।

अफगानिस्तानले जुन ३ मा युगान्डासँगको खेलबाट टी–२० विश्वकपमा आफ्नो अभियान सुरु गर्नेछ । दुई टोलीबिचको यो खेल गुयानामा हुनेछ । त्यसपछि टोलीले जुन ७ मा न्युजिल्यान्डसँग खेल्नेछ । अफगानिस्तानले १३ जुनमा पपुवा न्युगिनी र १७ जुनमा वेस्ट इन्डिजसँग खेल्नेछ । एजेन्सी


ताजा समाचार