टी–२० विश्वकप २०२४ : अस्ट्रेलियाको टोली घोषणा

अस्ट्रेलियाले सन् २०२४ को टी–२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । विश्वकपमा टिमले मिचेल मार्सको कप्तानीमा मैदान उत्रनेछ । भारतमा खेलिरहेको आईपीएल २०२४ मा उत्कृष्ट प्रदर्शन गरिरहेका धेरै यस्ता खेलाडीले टोलीमा स्थान पाएका छन् ।

टोलीमा ट्राभिस हेड र ग्लेन म्याक्सवेल जस्ता स्टार खेलाडीलाई समावेश गरिएको छ । यसबाहेक अस्ट्रेलियाका टेस्ट र एकदिवसीय कप्तान प्याट कमिन्सलाई पनि टोलीमा राखिएको छ । प्याट कमिन्स हाल आईपीएल २०२४ मा सनराइजर्स हैदराबादको नेतृत्व गरिरहेका छन् । रोयल च्यालेन्जर्स बैंग्लोरबाट खेल्दा खासै राम्रो प्रदर्शन गर्न नसकेका अलराउन्डर क्यामरुन ग्रीनलाई पनि टोलीमा मौका दिइएको छ ।

सन् २०२१ मा भएको टी–२० विश्वकपमा अस्ट्रेलिया च्याम्पियन बनेको थियो । यस्तो अवस्थामा यसपटक पनि अस्ट्रेलिया उपाधि जित्ने प्रबल दाबेदार हुनेछ । बोर्डले प्रतियोगिताका लागि टिममा रहेका अधिकांश अनुभवी खेलाडीमा विश्वास व्यक्त गरेको छ । अस्ट्रेलियाले आईपीएल २०२४ मा विस्फोटक इनिङ्स खेलिरहेका ज्याक फ्रेजर म्याकगुर्कलाई टिममा राखेको छैन । म्याकगुर्कको नामलाई लिएर निकै चर्चा भएको थियो । अस्ट्रेलियाले केन्द्रीय सम्झौतामा परेका मार्कस स्टोइनिसलाई मौका दिएको छ ।

विश्वकप खेल्ने अस्ट्रेलियाको टोली : 

मिचेल मार्स (कप्तान), प्याट कमिन्स, एस्टन आगर, टिम डेभिड, नाथन एलिस, क्यामरन ग्रीन, जोस हेजलवुड, ट्राभिस हेड, जोस इंग्लिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यू वेड, डेभिड वार्नर र एडम जाम्पा । एजेन्सी


ताजा समाचार