बायर्न म्युनिखलाई उसैको मैदानमा बराबरीमा रोक्यो रियल म्याड्रिडले

च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलको पहिलो लेग खेलमा स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडले बलियो जर्मन प्रतिद्वन्द्वी बायर्न म्युनिखलाई उसैको घरेलु मैदानमा २–२ गोलको बराबरीमा रोकेको छ ।

रियल म्याड्रिडले फाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । सेमिफाइनलको दोस्रो लेग खेल रियल म्याड्रिडको घरेलु मैदानमा खेलिने छ । रियल म्याड्रिडका लागि दुवै गोल भिनिसियस जुनियरले गरेका थिए ।

खेलमा सुरुआती अग्रता पनि रियल म्याड्रिडले नै लिएको थियो । खेल सुरु भएको २४औँ मिनेटमा भिनिसियसले रियल म्याड्रिडका लागि पहिलो गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा रियल अगाडि रह्यो ।

निर्धारित समयको ५३औँ मिनेटमा लेरोय सानेले बायर्न म्युनिखका लागि बराबरी गोल गरे । त्यसको चार मिनेटपछि नै ह्यारी केनले अर्को गोल थप्दै बायर्न म्युनिखलाई २–१ को अग्रता दिलाएका थिए ।

तर, निर्धारित समयको खेल सकिनुभन्दा सात मिनेटअघि भिनिसियसले ब्यक्तिगत रुपमा दोस्रो गोल गर्दै रियल म्याड्रिडलाई सम्भावित हारबाट जोगाएका थिए । उनले दोस्रो गोल पेनाल्टीमार्फत गरेका थिए । एजेन्सी


ताजा समाचार